चर्चित गायक प्रमोद खरेल सहितको “प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड”को कार्यक्रम व्यवस्थापनको जिम्मा औद्योगिक शान्ति नेपाल संस्थाले लिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत र गायक प्रमोद खरेलबीच एक वर्षका लागि सम्झौता गरिएको हो।
अध्यक्ष महत र ब्याण्डका प्रमुख भोकलिस्ट खरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार आजकै मितिदेखि गायक प्रमोद खरेल एण्ड परम्परा ब्याण्डका सांगीतिक कार्यक्रम, कन्सर्ट तथा सार्वजनिक प्रस्तुतिहरूको सम्पूर्ण व्यवस्थापन, योजना, समन्वय र सञ्चालन कार्य औद्योगिक शान्ति नेपाल संस्थाले गर्ने बताइएको छ।
सम्झौता पश्चात् गायक प्रमोद खरेलले ब्याण्डले पूर्णता पाएको भन्दै औद्योगिक शान्ति नेपाल संस्था जस्तो अनुभवी टिमसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेका छन्। उनले यस साझेदारीले आगामी कार्यक्रमहरू अझ व्यवस्थित, प्रभावशाली र दर्शकमैत्री हुने विश्वास व्यक्त गरे।
औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले गायक प्रमोद खरेल जस्ता स्थापित कलाकारसँग सहकार्य गर्न पाउनु आफ्नो संस्थाका लागि गौरवको विषय भएको बताए। महतका अनुसार, यस सम्झौताले नेपाली संगीत उद्योगमा व्यावसायिकता बढाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुतिको दायरा विस्तार गर्न सहयोग पुग्नेछ।
औद्योगिक शान्ति नेपाल संस्था विगत १५ वर्षदेखि देश तथा विदेशमा विभिन्न सांगीतिक, सांस्कृतिक र सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।