‘भाइरल गोर्खे’ माघ १ गते रिलिज हुने

0 Shares

सौगात मल्ल स्टारर चलचित्र भाइरल गोर्खेको नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरसहित निर्माण टिमले चलचित्रको रिलिज डेट पनि घोषणा गरेको छ। अब यो चलचित्र माघ १ गते रिलिज हुनेछ।

पोस्टरमा मुख्य दुई पात्र सौगात मल्ल र सृष्टि श्रेष्ठ फिचर्ड छन्। उनीहरूलाई रोमान्टिक भावमा देखाइएको छ भने छेउमा “बतासले उडाई लग्यो माया मेरो” लेखिएको छ, जसले दुई पात्रबीचको प्रेमलाई देखाउँछ। सोही बोलको गीत आज सार्वजनिक हुँदैछ।

पोस्टरमा लाइक, लभ रियाक्ट, र इमोजी समावेश गरिएको छ, जसले सामाजिक सञ्जालमा भाइरल हुने रुचि र समर्पणलाई दर्शाउँछ। पोस्टरमा “Follow for You” लेखिएको छ र मोबाइल फ्रेमभित्रका सौगात र सृष्टि टिकटक वा रिल्स बनाइरहेको जस्तो देखिन्छ।

चलचित्र भाइरल गोर्खेले टिकटक, फेसबुक र युट्युबमा भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुख्य कथा बनाएर प्रस्तुत गरेको छ। रोगकै रूपमा फैलिएको यस ट्रेन्डलाई समेटेर बनेको फिल्मले समसामयिक र चर्चित विषय उठाएको छ।

निर्देशक निगम श्रेष्ठले भने, “समसामयिक र घरघरको विषय भएकाले दर्शकले मन पराउनेमा हामी ढुक्क छौँ। कमेडी र ह्युमर पनि भएकाले चलचित्र पूर्ण प्याकेज हुनेछ।”

फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्। यसमार्फत निर्देशकले नेपालमा विकृतीको रूपमा फैलिरहेको भाइरल प्रवृत्तिलाई व्यंग्यात्मक ढंगले देखाउने प्रयास गरेका छन्।

चलचित्र एके ब्रदर कम्पनी, द जीएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको हो। सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता हुन् भने सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन्।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको फिल्म लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा छायांकन गरिएको हो। भाइरल गोर्खेको वितरक सुनिल मानन्धर हुन् भने द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्देप्रसाद, रवि चौधरी र भीम विश्वकर्मा छन्।

सम्बन्धित समाचार

सबै