आगामी माघ १६ गते रिलिज मिति घोषणा गर्दै आ बाट आमा टिमले पहिलो पोस्टर सार्वजनिक गरेको छ। तिहारको लक्ष्मीपूजाको विशेष अवसरमा यो आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो।
पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुशी मुन्द्रामा देखिएका छन्। सन्तानको खुशीमा आमाबुबु पनि खुसी भएको अनुमान गर्न सकिन्छ।
ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबुबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत पोस्टरले गरेको छ। पोस्टरमा लेखिएको संवाद, *“बा आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं”*ले कथाले आम नेपाली परिवारको वास्तविक जीवनसँग गहिरो सम्बन्ध राख्ने देखाउँछ।
निर्माण पक्षका अनुसार, फिल्मले ‘घर र आमाको माया’ भन्ने भावनालाई दर्शकसमक्ष नजिकबाट प्रस्तुत गर्नेछ।
चन्द्र पन्तको लेखन, पटकथा र निर्देशनमा र आर्या पन्तको प्रस्तुति रहेको यस फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रविन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा लगायतका कलाकारको अभिनय छ।
ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको डीओपीमा नवराज उप्रेती रहेका छन्। फिल्मको संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले तयार पारेका छन्।
विदेश प्रदर्शन अधिकार उच्च मागमा रहेका छन्। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्यूजिल्याण्डको प्रदर्शन अधिकार लिइसकेको छ। नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले पाएको छ। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
