भाइरल गोर्खे’को गीत ‘बतासले उडाइ लाग्यो’ सार्वजनिक

0 Shares

सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘भाइरल गोर्खे’को गीत सार्वजनिक भएको छ। ‘बतासले उडाइ लाग्यो’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो।

गीतमा त्रिशला गुरुङ र दीपक लिम्बुको स्वर रहेको छ। संगीत रोहित शाक्यले दिएका छन् भने गीतका शब्द कुशुम गजमेरले लेखेका हुन्। कोरियोग्राफी श्याम पट्टेलको रहेको छ।

यो गीत एक रिमेक हो। यसको ओरिजिनल भर्सनमा कुमार कान्छा र आशा भोस्लेको स्वर छ, संगीत रञ्जित गजमेरको रहेको छ, र यो ‘चिनो’ फिल्मको चर्चित गीत हो।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ फिचर गरिएको छ। भिडियोमा उनीहरूको प्रेम सम्बन्ध, चञ्चलता र एकअर्काप्रतिको समर्पण देखाइएको छ। सुन्दर दृश्य र रमणीय लोकेशनमा प्रेमको कथा प्रस्तुत गरिएको छ।

दुई दिनअघि ‘भाइरल गोर्खे’को नयाँ पोस्टर सार्वजनिक गरिएको थियो। यो फिल्म माघ १ गते रिलिज हुने तय गरिएको छ।

‘भाइरल गोर्खे’ फिल्म टिकटक, फेसबुक र युट्युबमा जसरी पनि भाइरल हुने पछिल्लो ट्रेन्डमा आधारित कथा लिएर बनेको हो। समाजमा रोगजस्तै फैलिरहेको यो ट्रेन्डलाई कथाको मुख्य विषय बनाइएको छ।

निर्देशक निगम श्रेष्ठका अनुसार, समसामयिक र घरघरको विषय भएकाले यो फिल्म दर्शकले मन पराउनेमा आफू ढुक्क छन्। फिल्ममा कमेडी र ह्युमर पनि मिसाइएकोले दर्शकका लागि यो पूर्ण मनोरञ्जनात्मक प्याकेज भएको उनले बताएका छन्।

एके ब्रदर्स कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमलाको अभिनय रहेको छ।

फिल्मका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर हुन्। सहनिर्मातामा शुभेच्छा पौडेल, भुवन अधिकारी र निखिल पौडेल छन्। कार्यकारी निर्माताको रूपमा निर्भाना फिल्म स्कुल र केदार श्रेष्ठ रहेका छन्।

अमर महर्जनको सिनेमाटोग्राफीमा बनेको यस फिल्मलाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा छायांकन गरिएको हो। ‘भाइरल गोर्खे’का वितरक सुनिल मानन्धर हुन् भने द्वन्द निर्देशक श्री श्रेष्ठ, सम्पादक बन्दे प्रसाद, रवि चौधरी र भीम विश्वकर्मा रहेका छन्।

सम्बन्धित समाचार

सबै