बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मन बिनाको धन’को शीर्ष गीतको टिजर सार्वजनिक गरिएको छ।
सार्वजनिक टिजरमा रुँदै गरेको अशोकलाई देख्न सकिन्छ भने शिव परियार र प्रमोद खरेलको स्वर रहेको गीतको केही अंश समेत प्रस्तुत गरिएको छ। फिल्मको ट्रेलर कार्तिक १२ गते बुधबार सार्वजनिक गरिने जानकारी निर्माण पक्षले दिएको छ।
कार्तिक २१ गतेबाट प्रदर्शनमा आउँदै गरेको ‘मन बिनाको धन’ले अहिले देशभर आक्रामक प्रचार–प्रसार सुरु गरेको छ।
पहिले सडकमा गीत गाउँदै माग्दै हिँड्ने अशोक दर्जीलाई संगीतकार टंक बुढाथोकीले आफ्नै साथमा राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीतमार्फत उनको जीवन परिवर्तन गरेका थिए। अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्। अशोकको वास्तविक जीवनकै पृष्ठभूमिमा तयार गरिएको यो फिल्म सामाजिक विषयवस्तुमा आधारित छ।
टंक बुढाथोकीको निर्माण र निर्देशनमा तयार भएको ‘मन बिनाको धन’को कथा स्वयं टंक बुढाथोकीले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन्। फिल्मकी प्रमुख अभिनेत्री मिनु शर्मा (सपना) रहेकी छिन्। सह–निर्मातामा जी.पी. संगौला, बिबेक नेपाल र बिजया पाण्डे छन्।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, र विजय डंगोल लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्ममा टंक बुढाथोकीकै संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन, र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ।
फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने छन्।