‘वरिष्ठ बलराम’ले कमायो दर्शकको मन, दोस्रो दिन पनि हाउसफूल शोसँग राम्रो अकुपेन्सी

0 Shares

 तिहारको भाइटीकाको अवसर पारेर हिजोदेखि प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’ ले देशभरका सिनेमा हलहरूमा उत्साहजनक अकुपेन्सी हासिल गरेको छ। दयाहाङ राई र विजय बराल स्टारर यो फिल्मले पहिलो दिनदेखि नै दर्शकको उल्लेखनीय साथ पाएको निर्माण पक्षले जनाएको छ।

निर्माताका अनुसार फिल्मले रिलिजको पहिलो दिन ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी पाएको थियो, र राजधानीदेखि बाहिरी सहरका हलहरूमा समेत दर्शकको भीड देखिएको थियो। आज पनि राम्रो प्रतिक्रिया र मागका कारण केही हलहरूले अतिरिक्त शो थपेका छन्।

निर्माता आशिष एच तामाङका अनुसार, “वरिष्ठ बलरामका अधिकांश शो हाउसफूल छन्। पहिलो दिन बिहानैदेखि हलहरू भरिएका थिए। दोस्रो दिन पनि दर्शकको उपस्थिती उच्च छ। धेरैले सिनेमा मन परेको प्रतिक्रिया दिएका छन् र वर्ड अफ माउथ निकै सकारात्मक छ।”

दयाहाङ र विजयको स्क्रिन केमिस्ट्री, संवाद र कथा प्रस्तुतिलाई दर्शकले प्रशंसा गरिरहेका छन्। शुक्रबार दोस्रो दिन बिहानैदेखि टिकट काउन्टरमा दर्शकको चहलपहल देखिएको थियो। चलचित्र हेरेर निस्किएका धेरै दर्शकले ‘वरिष्ठ बलराम’ ले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिएको बताएका छन्। कतिपयले यसलाई “माटो सुहाउँदो कथा” भनेका छन्।

सकारात्मक समीक्षासँगै निर्माण पक्ष फिल्मको व्यापारप्रति आशावादी देखिएको छ। निर्माता तामाङका अनुसार, “दर्शकको प्रतिक्रिया हेर्दा फिल्म लामो समयसम्म हलमा चल्ने विश्वास बढेको छ।”

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यस फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन्। निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की छन्। कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी. घिमिरे छन्। लाइन प्रोड्युसर राम विष्ट हुन्।

मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, र प्रदीप लामोको नृत्य निर्देशन रहेको फिल्मलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको हो।

सम्बन्धित समाचार

सबै