नेपाली सुगम संगीतको क्षेत्रमा एक लोकप्रिय नाम हुन् गायिका अञ्जना गुरुङ। उनले विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली गीत–संगीतका विभिन्न विधाहरूमा आफ्नो जादुमय स्वर प्रस्तुत गर्दै आएकी छन्। साथै, चलचित्रको पार्श्वगायनमा पनि उनी सफल गायिकाको रूपमा परिचित छिन्।
यही कार्तिक २१ गते शुक्रबारका दिन काठमाडौंमा टिका गोपाल एम. क्रियशनले गायिका गुरुङको एकल साँगीतिक कार्यक्रम – २०८२ आयोजना गर्न लागेको छ। सो दिन गायिका अञ्जना गुरुङले आफ्ना लोकप्रिय गीतहरूको प्रस्तुती गर्ने आयोजक टिका गोपाल एम. क्रियशनका अध्यक्ष गीत सिंहले जानकारी दिए।
गायिका गुरुङका “आँखैमा राख्छु मेरो देश”, “म त काली सुन्दरी”, “बदनाम भए म तिम्रै कारणले”, “आँधी सारी तिम्रो माया”, “ठ्याक्कै भेटौंला”, “नजर नजरको”, “जसले मुटु चुडेर लग्यो”, “माईला रोधी घरमा (कौडा)”, “मान चाहे नमान तिमी मेरो हौ” लगायत सयौं गीतहरू चर्चित छन्।
नेपाली साँगीतिक जगतमा गायिका गुरुङ एक सम्मानित र प्रिय नाम हुन्। सुगम संगीतदेखि चलचित्र पार्श्वगायनसम्म, उनले सादगीपूर्ण व्यक्तित्व, भद्र स्वभाव र जादुमय स्वरद्वारा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी छिन्। उनका अनुसार, यो एकल साँगीतिक कार्यक्रम केवल मनोरञ्जनको अवसर मात्र नभई नेपाली संगीतप्रति र गायिका गुरुङप्रति कृतज्ञता प्रकट गर्ने एक विशेष मञ्च पनि हुनेछ।
उक्त विशेष अवसरमा, गायिका गुरुङको संरक्षणमा र गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापना गरिएको “कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार – २०८२” पनि प्रदान गरिनेछ। ५१ हजार रुपैयाँको नगद राशीसहितको उक्त पुरस्कार यस वर्ष वरिष्ठ गायक कमल बी.के. “निर्मोही” लाई प्रदान गरिने भएको छ।
वरिष्ठ गायक निर्मोही लामो समयदेखि नेपाली मौलिक संगीतको प्रवर्द्धनमा सक्रिय छन्। उनी मध्य–पश्चिम तथा सुदूर–पश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरू नेपाली श्रोता–दर्शकमाझ प्रस्तुत गर्दै आएका छन्। हाल उनी मृगौला रोगबाट पीडित छन्।
यसअघि “कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार” बाट वरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), वरिष्ठ गीतकार विश्व बल्लभ (२०७९), वरिष्ठ वाद्यवादक कृष्ण गन्धर्व (२०८०) र वरिष्ठ लोकगायक रेशम थापा (२०८१) सम्मानित भइसकेका छन्।