आगामी कार्तिक १४ गते रिलिज हुने फिल्म ‘परान’ को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन्।
उनी (सोमबार) बिहान ११ः१० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्। अभिनेत्री चन्दलाई परान का निर्देशक दीपक आचार्य ले विमानस्थलमा स्वागत गरेका थिए।
विमानस्थलमा ओर्लिएलगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै चन्दले १८ घण्टाको लामो यात्रामा आफ्नो मोबाइलमा फिल्मका क्लिप्सहरू हेरेर समय बिताएको बताइन्। उनले फिल्म प्रचारका लागि करिब एक महिना नेपाल बस्ने जानकारी दिइन्। परान लाई लिएर आफू निकै उत्साहित रहेको पनि उनले बताइन्।
“परान फिल्म मेरा लागि निकै विशेष छ। प्रमोशनका लागि पूर्ण समय दिनेछु। पारिवारिक कथामा बनेको यो फिल्म सबैलाई मनपर्ने मेरो विश्वास छ,” उनले भनिन्। “निर शाह सरसँग काम गर्न पाउनु मेरो लागि अर्को ठूलो खुसी हो।”
‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो फिल्म हो। फिल्ममा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अन्जना बराइली, प्रविण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई तथा बाल कलाकार आर्यदीप आचार्य को अभिनय रहेको छ।
फिल्ममा रिदम कँडेल को संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाल को स्वरमा गीतहरू, शिवराम श्रेष्ठ को छायांकन तथा मित्र डी. गुरुङ को सम्पादन रहेको छ।
‘परान’ लाई बाइस्कोप सिनेमा प्रा. लि. ले निर्माण गरेको हो। यो कम्पनी देशकै प्रतिष्ठित व्यवसायिक समूह गोल्छा ग्रुप र प्रिज्मा ग्रुप को संयुक्त लगानीमा स्थापना भएको हो, जसका कारण फिल्मप्रति दर्शकको अपेक्षा झन् उच्च रहेको छ।