फिल्म ‘वरिष्ठ बलराम’ ले रिलिज भएको पाँच दिनमै दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
कार्तिक ६ गते प्रदर्शनमा आएको फिल्मले कार्तिक १० गतेसम्म दुई करोड रुपैयाँभन्दा माथिको व्यापार गरेको निर्माता आशिष एच. तामाङ ले जानकारी दिए।
“हालसम्म हाम्रो फिल्मले पाँच दिनमा दुई करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ,” निर्माता तामाङले बताए, “अहिले पनि उच्च अकुपेन्सीमा हाम्रो फिल्म चलिरहेको छ।”
उनका अनुसार, फिल्मले भावनात्मक सम्बन्ध र स्थानीय स्तरमा देखाइने दादागिरी विषयप्रति दर्शकको रुचि आकर्षित गरेको छ।
“रगतको मात्रै होइन, भावनात्मक सम्बन्ध पनि त्यति नै प्रगाढ हुन्छ भन्ने सन्देश दर्शकले निकै मन पराइरहनु भएको छ,” उनले भने, “स्थानीय स्रोतसाधनको दोहन र लभस्टोरीको पाटो पनि दर्शकले मन पराउनुभएको छ।”
दयाहाङ राई र विजय बराललाई फरक तरिकाले प्रस्तुत गरिएको कारण पनि दर्शकले फिल्मको खुलेर प्रशंसा गरिरहेको उनले बताए।
फिल्मलाई सुरेन्द्र पौडेल ले निर्देशन गरेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्स को सहकार्यमा बनेको यस फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, र प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडी ले लेखेका हुन्।
निर्मातामा आशिष एच. तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी. धामी र पुष्कर बी. घिमिरे छन्।
लाइन प्रोड्युसर राम विष्ट हुन्।
फिल्ममा मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको छ।
फिल्मलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसन ले वितरण गरेको हो।