‘जारी २’को ट्रेलरले पायो दुई दिनमै १० लाखभन्दा बढी भ्यूज, दियो सुखद व्यापारको संकेत

0 Shares

यस वर्षकै बहुप्रतीक्षित सिनेमा ‘जारी २’को ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गर्न सफल भएको छ।

यो सिनेमाको ट्रेलर युट्युबमा सार्वजनिक भएको दुई दिनमै १० लाखभन्दा बढी भ्यूज पाएको छ। ट्रेलरले राम्रो भ्यूजसँगै उत्कृष्ट प्रतिक्रिया पनि पाइरहेको छ।

यो समाचार तयार पार्दासम्म ट्रेलरले १० लाख भ्यूजसहित १ हजार १ सयभन्दा बढी प्रतिक्रिया र २९ हजारभन्दा बढी लाइक पाएको छ।

ट्रेलरको कमेन्ट बक्समा अधिकांश दर्शकले सिनेमा हेर्न प्रतिक्षा गर्न नसक्ने बताउँदै, “कार्तिक २१ कहिले आउला?” भन्ने उत्सुकता व्यक्त गरेका छन्।
त्यससँगै दयाहाङ र मिरुनाको जोडी निकै सुहाएको र विजय बरालले विशेष ऊर्जा थपेको प्रतिक्रिया पनि देख्न सकिन्छ।

ट्रेलरले लिम्बु समुदायको सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा आधारित सामाजिक तथा पारिवारिक उतार–चढावलाई केन्द्रमा राखेको जनाउँछ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित यस सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

सिनेमामा दयाहाङ राई, मिरुना मगर र विजय बराल प्रमुख भूमिकामा छन्।

त्यसका साथै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुले पनि अभिनय गरेका छन्।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘जारी २’लाई यो वर्षकै उच्च व्यापार गर्ने सम्भावित सिनेमाका रूपमा हेरिएको छ।

‘जारी’ सिनेमा सन् २०८० को ब्लकबस्टर फिल्म हो, जसले नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढी व्यापार गरेको थियो।

त्यसैले ‘जारी २’लाई यस वर्षको सबैभन्दा बहुप्रतीक्षित फिल्मको सूचीमा राखिएको छ।

सम्बन्धित समाचार

सबै