नेपालमा सुरु भएको ‘होस्टेल’ चलचित्र फ्रेन्चाइजको तेस्रो भागले सिमाना नाघ्दै भारतीय नेपाली समुदायमा पनि नेपाली सिनेमाको लोकप्रियता विस्तार गर्न सफल भएको छ।
नेपालमा लगातार ५१ दिन प्रदर्शनको ऐतिहासिक सफलता मनाएको ‘होस्टेल ३’ ले अब भारतमा पनि सोही सफलता दोहोर्याएको छ।
सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित SVF सिनेमा र Rink Mall मा निरन्तर प्रदर्शन भइरहेको यस चलचित्रले त्यहाँ पनि ५१ दिन पुरा गरेको भारतका वितरक सुरज खड्का ले बताए।
भारतमा ‘होस्टेल ३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमा ले गरेका हुन्।
सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो।
चलचित्रका निर्देशक सशान कँडेल ले भारतमा पनि फिल्मले ५१ दिन पुरा गरेको खुसी व्यक्त गरे। उनले भने,
“सर्वप्रथम, यति ठुलो फ्रेन्चाइजमा विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्स लाई धेरै धन्यवाद। निर्माण, वितरण र प्रचार–प्रसारमा संलग्न सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।”
‘होस्टेल ३’ ले क्याम्पस जीवनका उतार–चढाव, प्रेम, मित्रता र संघर्षको कथा चित्रण गर्दै युवापुस्तामाझ विशेष चर्चा पाएको छ।
चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुष लगायत कलाकारहरूले अभिनय गरेका छन्।
चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी, सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्युसर कोसिस राज क्षेत्री रहेका छन्।
सफल व्यापारसँगै ‘होस्टेल ३’ अहिले नेपालकै अग्रणी ओटीटी प्लेटफर्म सिनेमाघर एप मा स्ट्रिमिङ भइरहेको छ।
दर्शकहरूले यो एप Google Play Store, App Store, Android TV, Amazon Fire TV, Samsung Smart TV, LG WebOS लगायत माध्यमबाट डाउनलोड गरेर हेर्न सक्नेछन्। साथै, वेब ब्राउजर वा क्रोमकास्टमार्फत कम्प्युटरमा समेत सजिलै हेर्न सकिन्छ।