२१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘मन बिनाको धन’ को ट्रेलर बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ।
ट्रेलरमा दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ। वर्तमान समाजमा मन र धन बीचको टकराव र अशोक दर्जीले जीरो देखिको हिरो बन्ने यात्रालाई भावनात्मक र सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ।
बाटोमा गीत गाउदै र भिक्षा माग्दै हिँड्ने अशोक दर्जीलाई टंक बुढाथोकी ले आफूसँग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत जीवन नै परिवर्तन गरिदिएका छन्।
अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्। अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तु पनि प्रस्तुत गरिएको छ।
चलचित्र टंक बुढाथोकी को निर्माण तथा निर्देशनमा रहेको छ। कथाको लेखन बुढाथोकी आफैले गरेका हुन् भने पटकथा र संवाद शिवम अधिकारी ले लेखेका छन्।
फिल्म टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण विष्णुमाया मैनाली ले गरेकी हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा (सपना) रहेकी छन्।
सह–निर्मातामा जी.पी. संग्रोला, विवेक नेपाल र बिजया पाण्डे रहेका छन्। टिकाराम बुढाथोकी चलचित्रका क्रिएटिभ निर्देशक हुन्।
चलचित्रमा अशोक दर्जी सहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायत कलाकारको अभिनय रहेको छ।
फिल्ममा टंक बुढाथोकी को संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछाने को कोरियोग्राफी, मित्र डी. गुरुङ को सम्पादन र नवराज शर्मा को मुख्य सहायक निर्देशन रहेको छ।
चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनी ले वितरण गर्दैछ।