नेपाली सिनेमाको प्रिमियरमा पुगेपछि त्यसमा सहभागी (विशेषगरी पब्लिक फिगरहरू) मध्ये अधिकांशले अधिकांश फिल्मको प्रिमियरमा समान किसिमको अप्ठ्यारोको सामना गर्छन्।
त्यो हो, क्यामेरा अगाडि उभिएर सो सिनेमाका मेकरकै सामुन्ने सिनेमाका बारेमा बोल्नु। धेरैलाई थाहा भइसकेको छ, त्यहाँ पाइने भनेको प्रशंसा नै हो। कति निम्तालु सेलिब्रेटी त क्यामेरा छलेर हिँड्न उद्दत देखिन्छन्, तर निम्तामै गइसकेपछि तर्कनु शोभनीय पनि हुँदैन। अतः उनीहरूको प्रतिक्रिया सकारात्मक नै हुन्छ।
तर बिहीबार सिभिल मलमा नेपाली सिनेमा ‘परान’को प्रिमियरमा भने धेरैपछि दुर्लभ दृश्य देखियो।
निम्तालुहरू प्रतिक्रिया दिनुपर्ला कि भनेर तर्किएको देखिएनन्। उनीहरूले कुरेरै फिल्मको बारेमा तारिफ गरे।
फिल्म रिलिज भएको दुई दिन भइसकेको छ। फिल्मले सोचेजस्तो दर्शक फ्लो गराउन सकेको छैन, तर पनि यसले जत्ति प्रतिक्रिया पाएको छ, प्रायः सबैले फिल्म मन पराएका छन्। उनीहरूले फिल्म हेर्दै जाँदा कयौं ठाउँमा आफूलाई भावनात्मक रूपमा कस्न नसकेको स्वीकार गरेका छन्। कति आँसु झारेरै भक्कानिएको पाइयो भने कति सँगै गएकाको नजरबाट बचेर सुक्सुकाएको देखियो, त कति छेवैको अर्को दर्शक आफूजस्तै भावुक बन्यो कि भनेर लुकीलुकी छड्के नजर लगाएर हेरेको देखियो।
कति दर्शक हल भिजिटमा पुगेका फिल्मका कलाकारसँगै भावुक बने, रोए।
के ‘परान’ सिनेमा साँच्चै यस्तै बनेको छ त?
फिल्म नहेरेकाहरूको मनमा यो सवाल उठेको छ, जसमा संशयको मात्रा पनि मिसिएको छ।
यो सवालको जवाफ पढ्नुअघि यसका निर्माताको कुरा यहाँ उत्तिकै सान्दर्भिक हुन आउँछ । पहिले त्यो जानौं ।
देशको चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा यसका निर्माता हुन्। उनले प्रिज्मा एडटाइजिङका रञ्जित आचार्यसँग सहस्वामित्वको बाइस्कोप सिनेमा मार्फत यो सिनेमा निर्माण गरेका हुन्।
गत माघको पहिलो साता फिल्मको घोषणा गर्दा गोल्छाले जुन उत्साह र उद्देश्यले आफू सिनेमा निर्माणमा पसेको बताएका थिए, त्यसलाई उनले यो सिनेमामा अक्षरशः पालना गरेका छन्।
आफ्नो व्यवसायिक दुनियाँका साथीहरूसमेतलाई निम्त्याएर उनले आफू फिल्म निर्माता किन बन्न लागेका हुन् भन्ने बारेमा ओजपूर्ण भनाइ राखेका थिए।
त्यतिबेला उनले आफू उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा अतिथि भएर जिल्ला–जिल्लाका विभिन्न महोत्सवमा पुगेर देखेको र महसुस गरेको कुराबाट चिरिएर यसमा हात हालेको बताएका थिए।
सो क्रममा उनले ती कार्यक्रमका दृश्य र दिइने प्रस्तुतिको साक्षी बसिरहँदा नेपाली हुनुको नाताले छातीभित्रको नेपाली हुनुको गर्वलाई घोचेको अनुभूति सार्वजनिक गरेका थिए।
त्यहाँ उनले नेपाली संस्कृति डाइल्युट अर्थात् फरक संस्कृतिमा विलिन हुन थालेको देख्थे, जुन उनलाई सार्है अप्रिय लाग्थ्यो। ती दृश्य नहेर्न वा फेरि अर्को ठाउँमा हेर्न नपरोस् भनेर आयोजकहरूलाई “यस्तै चिज देखाउने हो भने मलाई नबोलाउनुस्” भनेर भन्ने गरेको सो कार्यक्रममा स्मरण गरेका थिए।
सो घोषणा कार्यक्रममा उनले नेपाली सिनेमाको मौलिकता एवं व्यवसायिकतासँगै कर्पोरेट कल्चर विकासका लागि सिनेक्षेत्रमा आएको घोषणा गरेका थिए।
त्यहाँ उनले यस्तो भनेका थिए —
‘म उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा विभिन्न महोत्सवहरूमा जाने गर्थें। त्यहाँ हाम्रो नेपाली मौलिकता डाइल्युट हुने गरी कार्यक्रमहरू हुन्थे। र मैले जहिले पनि आयोजकहरूलाई हाम्रो मौलिकता नै डाइल्युट हुने गरी कार्यक्रम गर्ने हो भने मलाई चाहिँ नबोलाइदिनुहोस्। म आउँदिनँ, किनभने प्रमुख अतिथिका रूपमा मलाई बोलाइन्थ्यो। हाम्रो मुभीमा पनि हाम्रो मौलिकता हराएको जस्तो लाग्छ। त्यो मौलिकता आउनुपर्छ। हामीले अरूको संस्कृतिलाई त्यसरी नै नक्कल गर्ने हो भने हाम्रो मौलिकता रहन्छ जस्तो लाग्दैन। यो सिनेमा गर्नुमा व्यवसायिक कारण त छँदैछ, तर कुनै न कुनै तरिकाले भोलि मौलिकता पनि होस्, व्यवसायिकता पनि होस्, एउटा कर्पोरेट कल्चर पनि आओस्। जसमा यसमा आबद्ध सबै कलाकार एउटा अनुबन्धमा होउन्, समयमा भुक्तानी पाउँन् र यसमा सम्बन्धित जो पनि छ, कर लगायतका विषयमा पारदर्शिता होस् भन्ने सोचका साथ व्यवसायिक क्षेत्रको मान्छे यो क्षेत्रमा आएको छ।’
शेखरले यस्तो बोलेर बनाएको सिनेमा खासमा उनले बोलेजस्तै बनेको छ।
फिल्मले आधुनिकता र पुँजीवादको प्रवेशले नेपाली समाजमा देखिन थालेको मनोवैज्ञानिक परिवर्तनले दुई पुस्ताको चाहना र विश्वासको अन्तरद्वन्द्वलाई प्रस्तुत गर्छ।
फिल्मले पूर्वी पहाडमा बस्ने ब्राह्मण परिवारको कथा पेस गर्छ। धर्मनाथ (नीर शाह) नामक पात्रलाई केन्द्रीय भूमिकामा राख्दै फिल्मले आफ्नो कथानक दर्शकमाझ पस्केको छ। ३ छोराका बाबु भए पनि जेठो अस्ट्रेलिया र माइलो काठमाडौंमा बस्ने गरेकोमा आफू साथै रहेको कान्छो छोराले आफ्नो जीवनको अन्तिम साससम्म साथ दिने कुरामा उनी विश्वस्त छन्। जसको बारेमा साथीसँग, छरछिमेक र गाउँ–समाज भलिभाँती परिचित छन्।
पर्दा सबैलाई सकेको सहयोग गर्ने उनी आफ्ना पूर्खाले खाँबो गाँडेको थातथलो छोड्न चाहँदैनन् र छोराहरूले पनि नछोडून् भन्ने चाहना पालेका छन्। जुन कुराको लागि उनको नजरमा सबैभन्दा भरपर्दो छोरा कान्छो हो। तर समयक्रममा कान्छो छोराले अन्यासै भरिएको डिभी परेपछि धर्मनाथले राख्दै आएको विश्वासको अवसानको कथा सिनेमाले पस्किन्छ।
कथा पस्किने क्रममा डेब्यू निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले दर्शकको मनमुटु भित्रको भावुकतालाई च्याप्पै पारिदिन्छन्। जुन दर्शकको आफूलाई रोक्ने र सम्हाल्ने बीच आँसु, भावुकता बनेर पोखिइहाल्छ।
यसका लागि निर्देशकले भावुकता मात्रै बेचेका छैनन्; नेपाली समाजमा परिवार के हो, परिवारमा उमेरको उत्तरार्धमा पुगेको बाबुको आफ्ना सन्तानसँगको अपेक्षा, सन्तानहरूको आफ्नै सन्तान जन्मिसकेपछि उनीहरूतर्फ बढ्ने झुकावले जन्मदिने आमाबाबु गौण हुँदै जाने कथा सूक्ष्म ढङ्गले पेस गर्छ। यसैगरी, एकात्मक परिवार चल्ने समाजको परिवार–परिभाषालाई कुन रूपमा खुम्च्याइरहेको छ भन्ने कुरा सिनेमाले देखाउँछ।
एउटा भावनात्मक पारिवारिक सिनेमा हुनुपर्ने गुणमा ‘परान’ले आफूलाई खरो उतारेको छ। यसमा कुनै पात्र सकारात्मक वा नकारात्मक भन्ने छैन; जेजति हुन्छ, परिस्थितिले निर्माण गरेको द्वन्द्वमा यसको कथा अघि बढ्छ।
यसले दर्शकलाई यी कुरा सँगै गाउँठाउँ छोडेर जीवनसंघर्षका लागि सहर वा डायस्पोरा भासिएकालाई नोस्टाल्जियामा लगेर उद्देलित पार्छ। उनीहरू सिनेमाले पेस गरेको कुरामा नतमस्तक बन्छन् र जीवनको भागदौडमा केही पो छुट्यो वा छुटाउँदै पो छौँ कि भन्ने आभास दिन्छ।
यी र यस्तै कुराले दर्शकमाथि यो सिनेमाले आफ्नो प्रभाव जमाउँछ। कलाकारको आफ्नो पात्रअनुसारको प्राकृतिक अभिनय र सलल बगेको पटकथाले यो सिनेमालाई उत्कृष्ट बनाएको छ। बुद्धिसागरको ‘कर्णाली ब्लुज’ पढ्दा पाठकहरूले जसरी त्यो लेखाइको क्राफ्टमा कब्जा परेको अनुभव गरेका थिए, समान खालको अनुभव यो सिनेमाले दिन्छ।
पछिल्लोपटक ‘पूर्णबहादुरको सारङ्गी’ भनौं वा धेरै पहिलेको अमिताभ बच्चनको ‘बागवान’ ले दर्शकलाई छोयो, यसले त्यो अनुभवलाई कम होइन, अलि बढी नै प्रभावित बनाउँछ। बाबुकै कथा बोल्ने ‘परान’ आफ्नो कथानकमा यी भन्दा भिन्न छ।
उम्म, साँच्चै यो ‘परान’ले रुवाउँछ — भलै देखिनेगरी आँसु नझार्ला।