दर्शक बटुल्दै ‘परान’, उत्कृष्ट दर्शक प्रतिक्रियाकाबीच बढ्यो हलको संख्या

0 Shares

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘परान’ उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएको छ।

भावनात्मक पारिवारिक कथा प्रस्तुत गर्ने यो फिल्म हेरेर दर्शकहरू भक्कानिएको भिडियोहरू सामाजिक सञ्जालमा छ्याछ्यासी भइरहेका छन् भने हेर्ने जोकोहीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।

‘सक्किगोनी’मा ‘काकु’ नामको पात्रमार्फत चिनिएका दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्मले आफ्नो कथावस्तु, कलाकारहरूको अभिनय र प्रस्तुतिका कारण दर्शकहरूको तारिफ बटुलिरहेको छ।

प्रतिक्रिया जनाउने क्रममा, डेब्यू निर्देशनमै उत्कृष्ट काम देखिएको दर्शकहरूको भनाइ छ। त्यस्तै, केन्द्रीय भूमिकामा रहेका नीर शाहको अभिनयलाई पनि उत्तिकै मनपराइएको छ। अन्य कलाकारहरूले पनि आफ्ना कामका लागि प्रशंसा बटुलेका छन्।
फिल्मले नकारात्मक प्रतिक्रिया लगभग पाएको छैन भन्दा हुन्छ।

फिल्म हेर्ने धेरै दर्शकहरू भावुक बनेका छन् र कथासँग आफूलाई जोडिरहेका छन्। परिवार, माया र सम्बन्धका यथार्थ दृश्यहरूले मानिसको मन छोइरहेका कारण ‘परान’ ले देशभर उत्कृष्ट ‘वर्ड अफ माउथ’ प्राप्त गरिरहेको छ।

रिलिजअघि भएको प्रिमियरमा पनि थुप्रै सेलिब्रिटी, राष्ट्रिय व्यवसायी, पत्रकार तथा सम्पादकहरूले फिल्मलाई नेपाली माटो, समाज र हरेक नेपाली घरको भावना समेटेको फिल्मको रूपमा प्रशंसा गरेका थिए।

चर्चित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छाको प्रिज्मा एडभर्टाइजिङ का प्रमुख रञ्जित आचार्यसँगको सहस्वामित्वमा रहेको बाइस्कोप सिनेमाज को ब्यानरमा बनेको यो फिल्मले डेब्यू निर्माणमै उत्कृष्ट फिल्म ल्याएको भन्दै अहिले नेपाली रजतपटमा व्यापक चर्चा पाएको छ।

हालसालै वर्षाका कारण दर्शकको फुटफलमा केही कमी देखिए पनि आजदेखि फिल्मले पिकअप लिएको निर्माण पक्षले जनाएको छ।
त्यस्तै, हलहरूको संख्या पनि बढेको बताइएको छ।

सम्बन्धित समाचार

सबै