चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको चलचित्र सङ्ग्रहालयका लागि अत्याधुनिक रेड एमएक्स क्यामेरा प्रदान गरिएको छ।
नेपाली चलचित्र क्षेत्रमा पहिलो पटक, चलचित्र सम्पदालाई व्यवस्थित रूपमा संग्रह गर्ने लक्ष्यका साथ बोर्डले चलचित्र सङ्ग्रहालयको तयारी तीव्र पारेको छ।
१६ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले उक्त क्यामेरा हस्तान्तरण गरेका हुन्। क्यामेरा बोर्डका अध्यक्ष दिनेश डिसीले ग्रहण गरेका छन्।
उपकरण ग्रहण गर्दै अध्यक्ष डिसीले भने, यो सहयोग चलचित्र क्षेत्रको ऐतिहासिक यात्रालाई संग्रह र सम्मान गर्ने अभियानमा महत्वपूर्ण योगदान भएको छ।
“चलचित्रको इतिहास, प्रविधि र योगदानको संरक्षण केवल कागजमा होइन, दस्तावेज र उपकरणमार्फत प्रमाणित गर्ने समय आएको छ।”
बोर्डका अनुसार, सङ्ग्रहालयमार्फत नेपाली चलचित्रका पुराना क्यामेरा, उत्पादन उपकरण, फिल्म पोस्टर, संगीत सामग्री, पटकथा, पुरस्कार–सम्मान लगायत ऐतिहासिक सम्पदा संरक्षित गरिनेछ।
यस क्यामेराबाट नेपाली चलचित्र “मायाज बार”, “छ एकान छ”, “अझै पनि” लगायतका चलचित्र छायांकन गरिएका थिए।
क्यामेरा प्रदान गरेका रजत बुढाथोकीले भने, नेपाली चलचित्रको इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन सहयोग गरेकोमा आत्मसन्तुष्टि महसुस भएको छ। दागंबाट राजधानीमा चलचित्र व्यवसाय गर्न आएका बुढाथोकीको कम्पनी हाल चलचित्र निर्माणका लागि उपकरण भाडा तथा पोस्ट–प्रोडक्सनको व्यवस्थापन गर्दै आएको छ। सिनेफोकस अत्याधुनिक लाइट र उपकरणमा अब्बल मानिन्छ।
उक्त अवसरमा बुढाथोकीले भने,
“चलचित्र क्षेत्र हाम्रो पहिचान हो। यसको इतिहासलाई सुरक्षित राख्नु सबैको दायित्व हो।”
हस्तान्तरण समारोहमा चलचित्र पत्रकार संघका समिर बलामी, महासचिव रघुनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो।