अशोक दर्जीको चलचित्र ‘मन बिनाको धन’ लाई यूनिभर्सल’ सर्टिफिकेट,सबैले हेर्न मिल्ने

0 Shares

यही शुक्रबार कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म ‘मन बिनाको धन’लाई फिल्म जाँच पास समितिले ‘युनिभर्सल’ सर्टिफिकेट प्रदान गरेको छ।

सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेसँगै यो फिल्म सबै उमेर समूहका दर्शकले सजिलै हेर्न पाउने भएका छन्।
सेन्सरका अधिकांश सदस्यहरूले अशोक दर्जीको विषयवस्तुमा निर्माण भएको ‘मन बिनाको धन’ निकै राम्रो फिल्म बनेको भन्दै खुलेरै प्रशंसा गरेका छन्। उनीहरूले फिल्मलाई सफलताको शुभकामना समेत दिएका थिए।

फिल्मको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले आफूलाई ठूलो हौसला मिलेको र दर्शकले फिल्मलाई पनि मन पराउने विश्वास रहेको निर्देशक टंक बुढाथोकीले बताए।
फिल्मको ट्रेलर युट्युबमा १० लाखभन्दा बढी पटक हेरिसकिएको छ। प्रचार सामग्रीमार्फत दर्शकमाझ राम्रो हाइप बनाउन सफल भएकाले फिल्मले व्यापारिक रूपमा सुखद ओपनिङ गर्ने निर्माण टिमको अपेक्षा रहेको छ।

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, र विजय डंगोल लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

बाटोमा गीत गाउँदै माग्दै हिंड्ने अशोक दर्जीलाई टंक बुढाथोकीले आफूसँग राखी ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका हुन्।
अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्। उनको वरिपरि केन्द्रित भई निर्माण गरिएको यस फिल्ममा सामाजिक विषयवस्तु प्रस्तुत गरिएको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘मन बिनाको धन’को कथा बुढाथोकीले नै लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको यो फिल्मकी निर्माता विष्णुमाया मैनाली हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा (सपना) रहेकी छिन्।
त्यस्तै जी.पी. संग्रोला, विवेक नेपाल र बिजया पाण्डे सह-निर्माताका रूपमा रहेका छन्।
टिकाराम बुढाथोकी फिल्मका क्रिएटिभ निर्देशक हुन्।

फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ।
फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

सम्बन्धित समाचार

सबै