एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म “हर्ष” को ट्रेलर सार्वजनिक गरिएको छ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमको बीचमा पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्म “हर्ष” को २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।
फिल्मका प्रायः सबै कलाकारलाई समेटिएको ट्रेलरले कथावस्तुको मुख्य झलक देखाएको छ।
ट्रेलरमा एक परिवारमा छोराको विवाहपछि आउने उतार-चढावलाई प्रस्तुत गरिएको छ। लामो समयपछि नेपाली फिल्ममा पारिवारिक कथाले स्थान पाउन थालेको “हर्ष” को प्रचार सामग्रीले स्पष्ट देखाएको छ।
आगामी मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक पौडेलले नेपाली फिल्ममा पारिवारिक फिल्मको ट्रेन्ड घट्दै गएकाले आफूले यो विधा रोजेको बताइन्। उनी स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्।
न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन तथा आम सञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्म पनि निर्माण गरिसकेकी छिन्।
फिल्ममा खगेन्द्र, वर्षा र साइमन सहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय रहेको छ।
फिल्ममा आलोक शुक्ला को छायांकन, समीर र हिमाल, वसन्त सापकोटा र एलिश कार्का को संगीत, लोकेश बज्राचार्य को सम्पादन, र सुनिल क्षेत्री तथा निर्देशक पौडेल को कोरियोग्राफी रहेको छ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक पौडेलकै हो। प्रशन्न पौडेल र विकास पौडेल निर्माता हुन् भने हिक्मत चोखाल कार्यकारी निर्माता हुन्।
फिल्मको प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन्।
फिल्मलाई काफिया फिल्म्स र डिसिएन वितरण गर्दैछ, जबकि डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ।