चलचित्र “पाँच पाण्डव” को काठमाडौंको गणेशथानमा मंगलबार शुभमुहुर्त गरिएको छ।
शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार उपस्थित थिए। वसन्त निरौलाले निर्देशन गर्ने यस चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) मुख्य पात्रको भूमिकामा रहनेछन्।
चलचित्रको नाम अनुसार यसलाई धार्मिक फिल्म नभएर सामाजिक ड्रामा रहेको निर्माण पक्षले स्पष्ट पारेको छ। पाँच पाण्डव हिन्दू महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन्। चलचित्रसँगै छवि जोडिएको अनुमान लगाउन सकिन्छ।
फिल्ममा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को–को हुने भन्ने प्रष्ट पारिएको छैन। तर उमेर र छविको आधारमा हरिवंश युधिष्ठिर हुनसक्ने अनुमान लगाउन सकिन्छ।
महत्त्वपूर्ण कुरा, पाण्डवहरूले द्रौपदीसँग विवाह गरेका थिए। यस चलचित्रमा द्रौपदी को हुन्? पाण्डवहरूको बाबु पाण्डु को हुन्? आमा कुन्ती को हुन्? भन्ने प्रश्नहरू रहन्छन्।
निर्माण पक्षका अनुसार “पाँच पाण्डव” को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन्। चलचित्रका अन्य केही कलाकार चयनको काम बाँकी रहेको निर्देशक निरौला बताउँछन्।
काली रानी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेखेका हुन्। पटकथा तथा संवाद पनि उनले नै तयार पारेका हुन्। पौडेल चर्चित चलचित्र “प्रसाद” का लेखक पनि हुन्।
चलचित्रका निर्माता काली रानी श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता नवीन श्रेष्ठ रहेका छन्। हरिवंश आचार्य लगायत रुचाइएका र अग्रज कलाकार फिल्ममा रहेका कारण चलचित्रको बजेट उच्च रहेको र निर्माणमा कुनै सम्झौता नगर्ने प्रस्तुतकर्ता श्रेष्ठले जानकारी दिएका छन्।
“हाम्रो चलचित्रमा कलाकारको राम्रो लाइनअप तपाईंहरूले देख्नुभयो। हामी चलचित्र पनि दर्शकले रुचाउने बनाउने छौँ। हामी एक सफल र दर्शकले सम्झिरहने ऐतिहासिक चलचित्र बनाउने छौँ,” उनले भने।
गत वर्ष नवीनले चलचित्र “लाज शरणम्” निर्माण गरेका थिए।
केही महिनाभित्र छायांकन सुरु हुने यो चलचित्रको प्रोडक्सन म्यानेजरमा दिलीप पन्त रहेका छन्।