फिल्म ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ। सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म माघ २३ गतेदेखि रिलिज हुने पक्का भएको छ।
फिल्ममा नायिका आना शर्मा मुख्य भूमिकामा छिन्। उनको साथमा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ। यही फिल्मबाट गायक समीर श्रेष्ठ पर्दामा नायकको रूपमा डेब्यू गर्दैछन्।
महिला–केन्द्रित यो फिल्मको फस्टलुकमा नायिका आना शर्माका विभिन्न रूपहरू देख्न सकिन्छ। फिल्ममा उनी ‘रमी’ पात्रको भूमिकामा देखिनेछिन्। उनीसँग जोडिएका पात्रहरू र उनको कथाको वरिपरि नै फिल्मको कथा घुम्नेछ।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेका यस फिल्ममा आर.पी. प्रोडक्सन एसोसियट निर्माताको रूपमा रहेको छ। फिल्मका निर्माता सागर लम्साल हुन्।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ।
शिशिर विशांखेको डीओपी रहेको फिल्ममा सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर र कातिक बरालको कोरियोग्राफी छ।
फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।
कार्यक्रममा प्रमुख अतिथीका रूपमा सहभागी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मले फरक आयाम र कथा बोकेको भन्दै शुभकामना व्यक्त गरे।
त्यस कार्यक्रममा बोल्दै नव–नायक समीर श्रेष्ठले आफू यो फिल्ममा संगीतकारको रूपमा जोडिएको र कथावस्तु मन परेपछि अभिनय गरेको बताए।
त्यस्तै, नायिका आना शर्माले चार वर्षअघि नै यो कथा सुनेको र यसको विषयवस्तु फरक लागेकाले आफू जोडिएको बताइन्। उनले अहिले आफ्नो जीवनमा ‘रमिताको पिरती’ नै घुमिरहेको उल्लेख गर्दै दर्शकलाई पनि फिल्मको कथा मनपर्ने विश्वास व्यक्त गरिन्।