कार्तिक २१ गते, आज शुक्रबारबाट यस वर्षको बहुप्रतिक्षित फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आएको छ।
यस फिल्मको रिलिजको पूर्वसन्ध्यामा बिहीबार कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो।
कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको यो फिल्म हेर्न प्रिमियर शोमा फिल्मकर्मी र रंगपत्रकारहरूको बाक्लो उपस्थिति थियो। प्रिमियर शोमा सिनेमा हेरेर निस्कँदा अधिकांश पाहुनाले लिम्बु संस्कृतिमा आधारित यो फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए। उपस्थित पाहुनाले फिल्मले माओवादी जनयुद्धको समयमा धर्म र संस्कृतिमा आएको संकटलाई प्रभावकारी रूपमा चित्रण गरेको टिप्पणी गरे।
फिल्म हेर्न निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, रौनक विक्रम कडेल, अर्जुन कुमार, निर्देशक दीपक प्रसाद आचार्य (काकु), अभिनेता आयुष्मान देशराज जोशी, दिव्यदेव, विपिन कार्की, अभिनेत्री अरुणा कार्की, पुजा चन्द, केकी अधिकारी, साथै ‘जारी २’ टिमका निर्देशक उपेन्द्र सुब्बा, निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर र ऋचा शर्मा पनि उपस्थित थिए।
विशेषगरी अभिनेत्री मिरुना मगरको लिम्बु संस्कृति झल्किने ड्रेसअपले सबैको ध्यान खिचेको थियो।
फिल्म हेर्न विघटित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर पनि पुगेकी थिइन्। फिल्म हेरेपछि मिडियासँग कुरा गर्दै उनले भनिन्,
“मैले जारीको पहिलो भाग पनि हेरेकी थिएँ। आज दोस्रो भाग पनि हेर्न पाइयो, निकै खुशी लाग्यो। यो फिल्मले राम्रो सन्देश दिएको छ। पहिलो भागको तुलनामा यो फरक कालखण्डको कथा हो, जसलाई निर्देशकले सुन्दर ढंगले प्रस्तुत गर्नुभएको छ। मलाई मन पर्यो, दर्शकलाई पनि मन पर्नेछ। सबैले एकपटक हेर्नुहोस्।”
आजदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आएको यो फिल्मले नेपालमा उच्च शो संख्याका साथ आक्रामक व्यापार गर्ने संकेत देखाएको छ। विशेषगरी पूर्वी नेपालका हलहरूमा यसको व्यापार अत्यन्तै उत्साहजनक देखिएको छ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल प्रमुख भूमिकामा छन्।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको यो फिल्म यस वर्षको सबैभन्दा बढी व्यापार गर्ने सम्भावना भएको फिल्मका रूपमा हेरिएको छ।
फिल्ममा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय रहेको छ।