दर्शकले मनपराए ‘पीआर’को ‘टाटा बाइ बाइ’ गीत

0 Shares

युट्युबमा फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’लाई दर्शकले सर्वाधिक रुचाएका छन्।

युट्युब तथा टिकटकमा राखिएको यस गीतलाई दर्शकले निकै मन पराएका हुन्। अहिले टिकटकका अधिकांश दृश्यहरूमा यो गीतका शब्दहरू ‘टाटा बाइ बाइ’मा भिडियो निर्माण गरिएको देखिन्छ।

गीत टिकटकमा हिट भएपछि निर्माण टिम उत्साहित देखिएको छ। फिल्मका निर्देशक शोभित बस्नेत आफ्नै फिल्मको गीतले सामाजिक सञ्जालमा चर्चा पाएकोमा दंग देखिन्छन्। यो गीत गत आइतबार सलोन सलिना युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो।

युट्युबमा पनि गीतले राम्रो भ्यूज कमाइरहेको छ। गीतले दुई हजारभन्दा बढी लाइक पाएको छ भने अधिकांश कमेन्टकर्ताले गीतको प्रशंसा गरेका छन्।

गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्यलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। गीतमा भिम बी.सी.को संगीत, टेक बी.सी. र प्रीती घिमिरेको स्वर रहेको छ भने कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की रहेका छन्।

निर्देशक बस्नेतका अनुसार यो फिल्म प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ। विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाको उनीहरूप्रतिको अपेक्षा फिल्ममा समेटिएको निर्माण पक्षले जनाएको छ।

यस फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। बन्दे प्रसादले सम्पादन गरेका यस फिल्मको लेखन गणेश बुढाथोकीले गरेका हुन्। त्यस्तै, फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन् भने वितरणको जिम्मा आर.आर. फिल्म्सले लिएको छ।

फिल्म आगामी मंसिर २६ गतेबाट नेपालभर रिलिज हुँदैछ।

सम्बन्धित समाचार

सबै