‘राम नाम सत्य’ फिल्मको छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ।
निर्देशक माइकल चन्द का अनुसार, करिब ८० प्रतिशत छायांकन चितवनमै गरिनेछ। फिल्मको कुल ५० दिनको सेड्युलमध्ये ४० दिन चितवनमा र बाँकी १० दिन मुस्ताङमा खिचिने योजना छ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरी ले रत्ननगर जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट फिल्मको शुभ छायांकनको उद्घाटन गरेका थिए। छायांकनको सुरुवातसँगै लाइन प्रोड्यूसर राजेन्द्र आचार्य ले फिल्म चितवनमै खिचिँदा यस क्षेत्रलाई ‘फिल्म सिटी’को रूपमा चिनाउन र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
फिल्म चैत्र २७ गते रिलिज गर्ने तयारी गरिएको छ। यसमा विराज भट्ट, सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, र दिनेश डीसी लगायत कलाकारको अभिनय रहनेछ। साथै, राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह, र पुजन लामिछाने विशेष भूमिकामा देखिनेछन्।
फिल्मका निर्माता उपेन्द्र सुब्बा र स्वेता बिमली हुन् भने किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माता रहेका छन्। मोती कार्की क्रियटिभ निर्माता हुन्। फिल्मको डीओपी मानकृष्ण महर्जन, एक्सन निर्देशन श्री श्रेष्ठ, संगीत अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारी को रहेको छ। पब्लिसिटी डिजाइन विजय बस्याल र प्रोडक्सन डिजाइन विदुषी थापा ले गरेका छन्।
एक्सन, सस्पेन्स र प्रेमको जनरामा निर्माण भइरहेको यो फिल्मलाई निर्देशक माइकल चन्दले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको बताएका छन्।