नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ गायक कमल बी.के. ‘निर्मोही’ लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ द्वारा सम्मानित गरिएको छ। नेपाली गीत–संगीतमा उनले पु¥याएको दीर्घ साधना र उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई नगद रु. ५१ हजार, सम्मानपत्र र दोसल्लासहित सम्मान प्रदान गरिएको हो।
गायक निर्मोही पछिल्ला वर्षहरूमा मृगौला रोगबाट पीडित रहँदै पनि निरन्तर सांगीतिक सिर्जनामा सक्रिय रहँदै आएका छन्। उनका ‘बुलबुल तालैमा’, ‘आऊँ त भने’, ‘मैले भन्थें नि’, ‘सलल बग्ने’, ‘ताने झैँ माया’, ‘अरू मैले’, ‘भेरी दोभान’ र ‘लाग्यो माया’ जस्ता गीतहरू आज पनि श्रोतामाझ अत्यन्त लोकप्रिय छन्। साथै, उनी एक कुशल रेडियोकर्मी पनि हुन्।
राजधानी काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सांगीतिक क्षेत्रका वरिष्ठ कलाकार, स्रष्टा, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पुरस्कारका संरक्षक गायक तथा संगीतकार कन्हैया सिंह परियार का अनुसार, पुरस्कारको मुख्य उद्देश्य नेपाली संगीतमा योगदान पु¥याएका अग्रज स्रष्टा र कलाकारहरूलाई जीवनकालमै सम्मान गर्नु हो। उनले भने, “यो सम्मानले कलाकारको मनमा खुसी, जीवनमा उत्साह र सर्जनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।”
कार्यक्रमका संयोजक, कीर्तिमान संगीतकार सन्तोष श्रेष्ठ ले कार्यक्रममा पुरस्कारको उद्देश्य, उपादेयता र प्रभावकारिताबारे प्रकाश पारे।
प्रमुख अतिथि दिनेश डी.सी. ले भने, “‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ ले गीत–संगीत क्षेत्रमा आवद्ध कलाकारहरूलाई नगद राशीसहित सम्मान प्रदान गर्नु प्रशंसनीय कार्य हो। यस्ता कार्यक्रमहरूले कलाकारमा नयाँ उत्साह र ऊर्जा थप्छन् र निरन्तर सिर्जनशील रहन प्रेरणा दिन्छन्।” उनले प्रवासमा रहँदै पनि नेपाली गीत–संगीतको विकासका लागि योगदान दिँदै आएका कन्हैया सिंह परियार र अञ्जना गुरुङ लाई धन्यवाद व्यक्त गरे।
एरा प्रोडक्सन को व्यवस्थापनमा आयोजित उक्त कार्यक्रमको सञ्चालन चर्चित रेडियोकर्मी हेम सुवेदी ले गरेका थिए। कार्यक्रमका सदस्य–सचिव निर्देशक माधव खरेल रहेका थिए भने सभापतित्व टिका गोपाल एम्. क्रियशन की अध्यक्ष गीता सिंह ले गरेकी थिइन्।
‘स्वरमाधुरी’ अञ्जना गुरुङको जादुमय एकल साङ्गीतिक प्रस्तुति सम्पन्न
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ को विशेष अवसरमा ‘स्वरमाधुरी’ उपाधि प्राप्त वरिष्ठ गायिका अञ्जना गुरुङ ले आफ्नो एकल सांगीतिक प्रस्तुति दिइन्। उनले आफ्ना चर्चित गीतहरू — “आँखीमा राख्छु मेरो देश”, “यस्तै हो माया मा”, “आँधी सरी तिम्रो माया”, “गङ्गारबे” (ढगुरुङ भाषाको गीत), “जसले मुटु चुँडेर लग्यो”, “बदनाम भएँ म तिम्रैक कारणले”, “एटम बम”, “म त काली सुन्दरी”, “ठ्याक्कै भेटौला” र “माईली रोधी घरमा” प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाइन्।
‘ठ्याक्कै भेटौला’ गीतमा भने गायिका गुरुङलाई गायक तथा संगीतकार कन्हैया सिंह परियार ले युगल स्वरमा साथ दिएका थिए।
उनको मधुर स्वर र सजीव प्रस्तुतीले कार्यक्रमस्थलमा पुरानो नेपाली संगीतको सुवास फैलिएको थियो। साथै, राष्ट्रिय गीत र रोदी शैलीका आकर्षक नृत्य प्रस्तुतीहरूले पनि कार्यक्रममा थप रौनकता भरेका थिए। कार्यक्रमको कोरियोग्राफी नृत्य निर्देशक जोगेन्द्र के.सी. ले गरेका थिए।
