सिनेमा पाठशालाको ब्यानरमा नयाँ नेपाली फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ। राजधानी काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा फिल्म निर्माणको घोषणा गरिएको हो।
फिल्मको निर्माण र निर्देशन दुवै राजु श्रेष्ठले गर्नेछन्। लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय श्रेष्ठको यो डेब्यु निर्देशन हो। फिल्मका निर्माता कैफ खान हुन् भने कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका छन्।
फिल्ममा उमर खान र पदम लोहार मुख्य भूमिकामा देखिनेछन्। मनोज केसी कार्यकारी निर्माता रहेका छन्। अन्य कलाकारहरूको खोजी कार्य जारी रहेको निर्देशक श्रेष्ठले जानकारी दिए।
निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी फागुन महिनाबाट सुरु गरिने तयारी भइरहेको छ। कथाले एक सामान्य व्यक्तिको करोडपति बन्ने र करोडपति व्यक्तिको कंगाल बन्ने अवस्थालाई प्रस्तुत गर्नेछ। समाजका यस्ता विपरित परिस्थिति र मानव जीवनका विडम्बनालाई फिल्मले मनोरञ्जनात्मक ढंगले चित्रण गर्ने निर्माण पक्षको भनाइ छ।