नेपाली चलचित्र पत्रकारिताको सुरुवातदेखि वर्तमान अवस्थासम्मको यात्रालाई समेट्दै तयार गरिएको पुस्तक ‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमानसम्म’ लोकार्पण गरिएको छ।
चलचित्र विकास बोर्डको सहयोगमा तयार पारिएको उक्त पुस्तकको लोकार्पण राजधानी काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा एक विशेष समारोहका बीच सम्पन्न भएको हो।
चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित पुस्तकको सामूहिक लोकार्पण चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डी.सी.), चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, निर्माता सङ्घका अध्यक्ष नवल खड्का, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष जनक कार्की, चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, पूर्वअध्यक्षहरू शान्तिप्रिय, विदुर गिरी, कलाकार केदार घिमिरे, साहित्यकार डा. नवराज लम्साल, राससका वरिष्ठ पत्रकार प्रकाश सिलवाल लगायत विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा गर्नुभयो।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष डी.सी. ले नेपाली चलचित्रको विकासक्रममा चलचित्र पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै, चलचित्र पत्रकारितामा खोजी र विश्लेषणात्मक पत्रकारितालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी ले चलचित्र पत्रकारितालाई शुद्धीकरण र व्यावसायिकताको दिशामा अघि बढाउँदै नयाँ पुस्तालाई पत्रकारितामा सक्रिय बनाउन सङ्घले निरन्तर प्रयासरत रहेको बताउनुभयो।
कार्यक्रममा चलचित्र पत्रकारिताका खोजमूलक दृष्टिकोण विषयमा अध्यक्ष डी.सी., कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, पत्रकार शान्तिप्रिय, धु्रव लम्साल, मदन रिजाल र रघुनाथ सापकोटा बीच विचार–विनिमय भएको थियो। छलफलमा सहभागी पत्रकारहरूले चलचित्र पत्रकारिताले कुनै निश्चित फिल्म वा कलाकारको प्रचारक नभई पत्रकारिताको सिद्धान्त र स्वतन्त्रताको दायराभित्र रहेर कार्य गर्नुपर्नेमा जोड दिएका थिए।
📸 फोटो : बद्री थापा