रोशन दासको ‘प्रतिवैरम’ को सम्पूर्ण छायांकन सम्पन्न

0 Shares

निर्देशक रोशन दासको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘प्रतिवैरम’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित यस फिल्मको छायांकन करिब ४५ दिनमा पूरा गरिएको निर्माण पक्षले जनाएको छ।

फिल्मको पहिलो चरणको छायांकन १५ दिन सर्लाहीमा र दोस्रो चरणको छायांकन ३० दिन सिराहामा गरिएको थियो। चलचित्रको छायांकन डायरेक्टर अफ फोटोग्राफी (DOP) ज्याकले गरेका हुन्। सफलतापूर्वक छायांकन सम्पन्न भएपछि फिल्म अहिले पोष्ट–प्रोडक्सन प्रक्रियामा प्रवेश गरेको निर्माण टिमले जानकारी दिएको छ।

फिल्ममा सम्राट दास, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, सुप्रज्ञा शर्मा, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बि.के., बिके शाह, र रामेश बुढाथोकी लगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रमा सह–निर्देशकका रूपमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत, र श्रीजना भुजेलले काम गरेका छन्। रेज इन्टरटेनमेन्टद्वारा निर्माण गरिएको फिल्ममा प्रोडक्सन म्यानेजर कमल सुनार रहेका छन् भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हालेका छन्।

निर्देशक रोशन दासका अनुसार, फिल्मले मधेसका वास्तविक कथा, सौन्दर्य र समस्यालाई यथार्थ ढंगले प्रस्तुत गर्ने उद्देश्य राखेको छ। उनले भने, “प्रतिवैरम मार्फत हामीले मधेसको वास्तविकता दर्शक सामु पुर्‍याउने प्रयास गरेका छौं।”

फिल्मको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका हुन्। निर्माण पक्षका अनुसार, फिल्म २०७३ सालमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ।

सम्बन्धित समाचार

सबै