केदार घिमिरेद्वारा चलचित्र पत्रकार कल्याणकारी कोषलाई २५ हजार रुपैयाँ सहयोग

0 Shares

 चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार संघ नेपाल द्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषका लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

चलचित्र पत्रकार संघ नेपालले लामो समयदेखि पत्रकारहरूको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपतकालीन अवस्थाका लागि कोष सञ्चालन गर्दै आएको छ। यसलाई अझ सशक्त बनाउन ‘कल्याणकारी कोष अभियान’ सञ्चालन गरिएको छ। यही अभियानअन्तर्गत आइतबार अभिनेता घिमिरेले संघका प्रतिनिधिलाई नगद हस्तान्तरण गरेका हुन्।

सहयोग रकम बुझाउँदै अभिनेता घिमिरेले भने,“म आफ्नो अभिनयबाट कमाएको पारिश्रमिकको केही अंश सधैं समाजसेवामा खर्च गर्दै आएको छु। यो पटक चलचित्र पत्रकारहरूका लागि सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ।पत्रकारहरू नै हाम्रो सिर्जनालाई दर्शकसम्म पुर्‍याउने माध्यम हुन्, उनीहरूको सहयोग हाम्रो दायित्व पनि हो।”

उच्च पारिश्रमिकका कलाकारका रूपमा परिचित घिमिरेले आफ्नो पारिश्रमिकको केही हिस्सा सामाजिक उत्तरदायित्वअनुसार समाजोपयोगी क्षेत्रमा लगाउँदै आएका छन्। उनले चलचित्र पत्रकारहरूको समस्यामा सानो योगदान दिन पाउनु गर्वको विषय भएको बताए।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी ले अभिनेता घिमिरेको योगदानप्रति आभार व्यक्त गर्दै भने, “हाम्रो कोषले अहिलेसम्म करिब दुई दर्जन पत्रकारहरूको उपचारमा प्रत्यक्ष सहयोग गरेको छ।

भूकम्प, कोरोना महामारीजस्ता संकटका समयमा पनि पत्रकारहरूलाई राहत र उपचार सहयोग पुर्‍याउँदै आएको छ।
यस्तो सहयोगले कोषलाई अझ मजबुत र प्रभावकारी बनाउनेछ।”

संघले चलचित्रकर्मी, कलाकार र अन्य शुभेच्छुकहरूलाई पनि पत्रकार कल्याणकारी कोषमा सहभागिता जनाउन आह्वान गरेको छ। अभिनेता घिमिरेको यो योगदानले चलचित्र पत्रकारिता क्षेत्रमा सकारात्मक सन्देश र एकताको भावना जगाउने विश्वास संघले व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै