मंसिर २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पीआर’ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ। जापानमा नेपाली फिल्महरू वितरण गर्दै आएको युना डिजिटल ले उक्त अधिकार खरिद गरेको हो।
फिल्मका निर्देशक शोभित बस्नेतका अनुसार, जापानमा ‘पीआर’को अधिकार बिक्री भइसकेको छ। उनले भने, “अहिले जापानका लागि फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौँ। अन्य देशका वितरकहरूसँग पनि छलफल भइरहेको छ, र केही दिनमै थप जानकारी दिनेछौँ।”
निर्देशक बस्नेतका अनुसार, ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको एक भावनात्मक कथामा आधारित फिल्म हो। उनका शब्दमा, “फिल्ममा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरूप्रति राखेका अपेक्षालाई कथाको केन्द्र बनाइएको छ।”
हालै सार्वजनिक भएको फिल्मको गीत ‘टाटा बाइ बाइ’ सामाजिक सञ्जालमा उच्च लोकप्रियता पाइरहेको छ। गीत युट्युबमा रिलिज भएको केही दिनमै ट्रेन्डिङमा पुगेको छ भने टिकटकमा यसको शब्द र धुनमा बनेका छोटा भिडिओहरू व्यापक रूपमा भाइरल बनेका छन्।
फिल्ममा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायल लगायतका कलाकारहरूको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिनेछन्।
चलचित्रका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। फिल्मको लेखन गणेश बुढाथोकीले, सम्पादन बन्दे प्रसादले र छायांकन सौरभ सायमी तथा सौरभ लामाले गरेका हुन्। फिल्मको वितरण आर.आर. फिल्म्स ले सम्हाल्ने भएको छ।
निर्माण पक्षका अनुसार, जापानमा प्रदर्शन अधिकार बिक्रीसँगै अन्य देशका नेपाली दर्शकमाझ पनि ‘पीआर’प्रतिको उत्सुकता बढेको छ। यसअघि अष्ट्रेलियाका विभिन्न सहरहरूमा आयोजित विशेष शोमा हजारौँ दर्शकले फिल्म हेरेका थिए।