गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ। देशभरका हलहरूमा राम्रो व्यापार गरिरहेको यो सिनेमाले विशेषगरी पूर्वी नेपालका हलहरूमा आक्रामक कमाइ गरेको छ।
लिम्बु समुदायको कथामा आधारित यस सिनेमाको सफल प्रदर्शनसँगै निर्देशक उपेन्द्र सुब्बा र मुख्य अभिनेत्री मिरुना मगर दर्शक साक्षात्कारका लागि पूर्वी नेपाल पुगेका छन्। सोमबार झापाको दमक र बिर्तामोडमा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको टोलीले आज मंगलबार सुनसरीको धरान र इटहरीका विभिन्न हलहरूमा दर्शक साक्षात्कार गर्ने कार्यक्रम तय गरेको छ।
आजदेखि सिनेमाको ‘डिरेक्टर्स कट’ भर्सन प्रदर्शनमा आएको छ, जसमा १४ मिनेट लामो नयाँ दृश्य थपिएको छ। निर्देशक सुब्बाले पूर्वी नेपालका दर्शकबाट पाएको न्यानो स्वागत र माया आफूमाथि ठूलो जिम्मेवारी र चुनौतीको रूपमा लिएको बताए।
मुख्य अभिनेत्री मिरुना मगरले पनि नयाँ भर्सनले दर्शकमाझ थप उत्साह सिर्जना गरेको बताइन्। उनले भनिन्, “हिजो हामीले दमक र बिर्तामोडमा दर्शकसँग साक्षात्कार गर्यौं। आज धरान र इटहरीमा दर्शक भेट्दैछौं। धरान मेरो होमटाउन भएकाले दर्शकसँग भेटघाट गर्न अझ उत्साहित छु।”
उपेन्द्र सुब्बाद्वारा लेखन र निर्देशन गरिएको यस सिनेमाको निर्माण रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको ‘जारी २’ यस वर्षको सफल व्यापार गर्ने नेपाली फिल्महरूको सूचिमा सामेल भएको छ। फिल्ममा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय रहेको छ।