गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मन बिनाको धन’ ले सकारात्मक दर्शक प्रतिक्रिया बटुलेसँगै देशभर शो संख्या बढाएको छ।
निर्देशक टंक बुढाथोकीका अनुसार, फिल्मले सुरुवातमा सीमित शो पाएको भए पनि दर्शकको रुचि र राम्रो वर्ड–अफ–माउथका कारण अहिले प्रदर्शन संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।
उनले भने, “पहिलो दिन शो कम थियो, तर दर्शकको प्रतिक्रिया उत्कृष्ट आएपछि अहिले प्रदर्शन संख्या बढ्दै गएको छ। स्कुल–कलेजका विद्यार्थीदेखि परिवारका सदस्यसम्म हलमा फिल्म हेर्न आइरहेका छन्।”
अभिनेता अशोक दर्जी, नीता ढुंगाना र रमेश विश्वकर्माको अभिनयलाई दर्शक र समीक्षक दुवैले प्रशंसा गरिरहेको निर्देशक बुढाथोकीले बताए।
सोमबार मात्र नेपालगञ्जको सिने रोयलमा सात शो र क्यूएफएक्स बागेश्वरीमा दुई शो हाउसफुल चलेका थिए। त्यस्तै, पूर्वका इटहरी, बिर्तामोड, दमक, विराटनगरसँगै चितवन, पोखरा र दाङका हलहरूमा पनि दर्शकको भीड बढ्दै गएको छ।
फिल्मले सुरुवाती दिनमा ९५ शो पाएको थियो भने अहिले देशभर करिब डेढ सय शो प्रदर्शनमा छन्। यसबीच, कलाकारहरू काठमाडौँका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरी प्रतिक्रिया लिइरहेका छन्।