निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मार्फत नेपाली चलचित्र क्षेत्रमा नयाँ नायिकाको आगमन भएको छ।
हालै लन्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टोलीले चलचित्रको मुख्य अभिनेत्री सोल गुरुङलाई सार्वजनिक गरेको हो। लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी सोलले यस चलचित्रमार्फत डेब्यु गर्दै छिन्। उनले यसअघि केही म्युजिक भिडियोमा मोडलिङ्ग गरिसकेकी छन्।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो चलचित्रको नाम सुन्दा नारीकथामा आधारित जस्तो लागे पनि निर्देशक चाम्सले स्पष्ट पारेका छन् कि यो पूर्णतया शुद्ध प्रेमकथा हुनेछ। फिल्ममा सोल गुरुङ, कुन्साङ बमजन, अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा र सुस्मा सुब्बा प्रमुख भूमिकामा देखिनेछन्।
निर्देशक चाम्सका अनुसार, चलचित्र युनिभर्सल कथामा आधारित रहनेछ र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिनेछ। राजीव थापाको लेखनमा तयार भइरहेको ‘सुम्निमा’ को दोस्रो चरणको छायांकन अब नेपालमा हुने बताइएको छ।
पूर्वमा ‘विर विक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’ र ‘अञ्जिला’ जस्ता फरक–फरक शैलीका सफल चलचित्र निर्देशन गरेर आफूलाई सशक्त फिल्ममेकरको रूपमा स्थापित गरिसकेका मिलन चाम्सको पछिल्लो फिल्म ‘अञ्जिला’ ले ब्लकबस्टर व्यापार गरेको थियो। उक्त बायोपिकले नेपाली चलचित्र इतिहासमा सबैभन्दा बढी व्यापार गर्ने कीर्तिमान पनि कायम गरेको थियो।