आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ टिमले बुधबार दुई वटा पोस्टर सार्वजनिक गरेको छ। पोस्टरले फिल्मको कथावस्तु र भावनात्मक पृष्ठभूमि झल्काउने उद्देश्य राखेको छ।
पोस्टरमा राखिएको स्लोगन छ — “बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु पर्यो।” यसले आमाबुबाप्रति छोराछोरीको भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्ने संकेत दिन्छ।
पहिलो पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह र सिमरन पन्त खुशी मुडमा देखिएका छन्। त्यस्तै साइग्रेस पोखरेल पनि खुशी अनुहारमा छन्। दोस्रो पोस्टरमा भने सबै पात्र भावुक छन्। श्रीमान–श्रीमतीको भूमिकामा रहेका विपना र प्रदीप अगालोमा बेरिएर रोइरहेका छन् भने छोराको भूमिकामा पल शाह रगताम्य अनुहारसहित देखिएका छन्।
ग्रामीण परिवेशमा आधारित यस फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। फिल्म निर्देशक चन्द्र पन्तले निर्देशन र पटकथा लेखन गरेका हुन् भने आर्या पन्तले प्रस्तुतिको जिम्मा सम्हालेका छन्।
फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रविन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा, रचना गौतम लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्म ‘आ बाट आमा’ आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको छ। ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्। डीओपीमा नवराज उप्रेती छन्। संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको योगदान रहेको छ।
विदेश प्रदर्शन अधिकार केही देशमा बिक्री भइसकेको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा. लि.ले अस्ट्रेलिया र न्यूजिल्याण्डका लागि प्रदर्शन अधिकार लिइसकेको छ। देशभरि वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ।