गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’ को नयाँ गीत “बा आमा” सार्वजनिक गरिएको छ। गीतमा अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ, टंक बुढाथोकीले संगीत तथा एरेन्ज गरेका छन् भने शंकर आचार्यले शब्द लेखेका छन्।
देशभरका हलमा प्रदर्शन भइरहेका *‘मन बिनको धन’*लाई दर्शकले अत्यन्त मन पराएका छन्। फिल्मको प्रदर्शन पहिलो दिनदेखि नै जेनजीन पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा उपस्थित देखिएका छन्।
हल भ्रमणमा पुगेका कलाकारहरूले अशोक दर्जीको वास्तविक जीवन कथामा आधारित फिल्मले दर्शकको मन जितेको देखाएका छन्। दर्शकले दर्जीलाई अँगालो हालेर रोएको दृश्यका भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भएका छन्। स्कुलका विद्यार्थीहरूदेखि उनीहरूका बुबाआमा पनि फिल्म हेरेर भावविभोर भएका छन्।
चलचित्रका कलाकारहरू राजधानी र देशबाहिरका हलमा गएर प्रत्यक्ष प्रतिक्रिया लिइरहेका छन्। फिल्मले पहिलो दिन ९५ शो पाएको थियो भने अहिले करिब सवा सय शो प्रदर्शनमा छन्, हरेक शोमा दर्शक हाउसफुल रहेका छन्।
फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रविन्द्र झा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मको निर्माण र निर्देशन टंक बुढाथोकीले गरेका छन्। कथाको लेखन टंक बुढाथोकीले गरेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा विष्णुमाया मैनाली निर्माता हुन्, कार्यकारी निर्माता मिनु शर्मा (सपना), सह-निर्माता जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे हुन्। टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन्।
संगीत टंक बुढाथोकीको, छायांकन सौरभ लामाको, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेको, सम्पादन मित्र डी. गुरुङको र मुख्य सहायक निर्देशक नवराज शर्माको रहेको छ। फिल्मको वितरक एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनी हो।