अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा आयोजित ‘सान फ्रान्सिस्को इन्टरनेशनल न्यू कन्सेप्ट फिल्म फेस्टिभल’मा नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले अवार्ड जितेको छ।
विश्वभरिबाट एक सय अठार फिल्म समावेश भएको उक्त अवार्डमा यस फिल्मले उत्कृष्ट कथानक फिल्मको अवार्ड जितेको हो।
फिल्मका निर्माता तथा निर्देशक मित्र प्रधान (नर) ले अवार्ड ग्रहण गर्दै नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले अमेरिकामा उत्कृष्ट कथानक फिल्मको अवार्ड पाउनु आफैँमा ठूलो कुरा भएको र नेपाली फिल्मका लागि यो खुशीको विषय भएको बताउनुभयो। प्रधानले आफ्नो कथा मन पराइदिने सबै जूरीलाई धन्यवाद दिनुभयो।
फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले यसअघि बेलायतमा आयोजित ‘मिल्टन किन्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ मा उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड पनि जितेको छ। फिल्मलाई सौरभ लामाले खिचेका थिए।
पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेका यस फिल्मलाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्। फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, बिजिता परियार लगायतका कलाकारको अभिनय रहेको छ।
मित्र प्रधान (नर) को निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ। यसमा सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको VFX, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन तथा CGI सत्यम राना रहेको छ।