‘मिरमिरे’ फिल्मका दुईवटा पोस्टर सार्वजनिक

0 Shares

यम शेर्पाको निर्देशित ‘मिरमिरे’ फिल्मका दुईवटा पोस्टर सार्वजनिक भएका छन्।

सार्वजनिक गरिएका पोस्टरमा मुख्य कलाकारहरू फिचर्ड छन्।

दयाहाङ राई र एक बाल कलाकार, साथै प्रकाश सपूत र सिर्जना निङ्लेखु पोस्टरमा फिचर्ड छन्। पहिलो पोस्टरमा दयाहाङ राई र शाइसा गौचन छन्।

मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा देखिन्छन्। उनीहरू बुबा र छोरीजस्तै देखिन्छन्। दुवै केही तनावमा छन्—कसैको पर्खाइ वा वियोगमा बसेजस्तो अनुभूति हुन्छ। दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि वहन गरिरहेजस्तो संकेत पोस्टरमा पाइन्छ।

दोस्रो पोस्टरमा प्रकाश सपूत र सिर्जना निङ्लेखु फिचर्ड छन्। प्रकाश विद्यार्थीको भेषमा छन् भने सिर्जना शिक्षिकाको भेषमा देखिन्छन्। सिर्जनाको मन्द मुस्कान र प्रकाशको रमाइलो हाँसो पोस्टरमा देखिन्छ।

यी दुईबीच शिक्षक–विद्यार्थीको मात्र सम्बन्ध छ कि प्रेमसम्बन्ध नै हो—निर्माण पक्षले यसबारे स्पष्ट पारेको छैन। तर उमेरको हिसाबले हेर्दा प्रकाश सिर्जनाकै विद्यार्थी जस्तो देखिँदैन।

‘मिरमिरे’ माघ १ गते रिलिज हुँदैछ। यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङ्लेखु मुख्य भूमिकामा छन्। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकार छन्। फिल्मका बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।

दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। यम शेर्पाले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गरेका हुन्। यसअघि उनको पहिलो निर्देशन ‘कार्साङ’ मा पनि दयाहाङ मुख्य भूमिकामा थिए।

‘मिरमिरे’ को निर्देशनसँगै कथा पनि यम स्वयंले लेखेका हुन्। फिल्मका छायाकार आलोक शुक्ला हुन्।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता भएका ‘मिरमिरे’ का सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। फिल्मका कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसरका रूपमा छन्। फिल्ममा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक हुन्।

फिल्म ‘मिरमिरे’ को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।

सम्बन्धित समाचार

सबै