युट्युबमा ‘हिँडेरै अमेरिका जानेहरूको कथा’ मा आधारित सर्ट फिल्म ‘वन इन अ मिलियन’ रिलिज गरिएको छ।
विशाल सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो सर्ट फिल्म सुनिता भण्डारीको लगानीमा बनेको हो।
हिँडेर अमेरिका पुग्नेहरूको कथा समेटिएको यस सर्ट फिल्मलाई रामेश्वर कार्कीले खिचेका छन्। फिल्ममा हसन राजा खान मुख्य भूमिकामा छन्। त्यस्तै, अमेरिकामा बस्दै आएका कलाकार सुभाष थापाले पनि फिल्ममा अभिनय गरेका छन्।
उनीहरूका साथमा नरेन्द्र साउद, सुरज खत्री, प्रिन्स नेगी, हेमन्त न्यौपाने, मुरताजा अजिज र रेसाद खलिलले अभिनय गरेका छन्।
केही नेपाली फिल्ममा अभिनय गरिसकेका कलाकार हसन राजा खानलाई केन्द्रमा राखेर यो सर्ट फिल्म निर्माण गरिएको हो। फिल्मले हिँडेरै अमेरिका पुग्ने नेपालीहरूका अनुभव र अमेरिका पुगेपछि उनीहरूले भोग्ने जीवनशैलीलाई मुख्य विषय बनाएको छ।
‘वन इन अ मिलियन’ ‘इजिप्टियन अमेरिकन फिल्म फेस्टिभल–२०२५’ र ‘फिल्ममेकर सिजन भोल्युम ११–२०२५’ मा पनि छनोट भइसकेको छ।
यस सर्ट फिल्ममा कुनै संवाद छैन, तर दृश्य र कलाकारहरूको अभिनयमार्फत कथाले भन्न खोजेको कुरा स्पष्ट रूपमा बुझ्न सकिन्छ।