नेपाली लोक तथा दोहोरी गीत–संगीत क्षेत्रमा अर्को महत्वपूर्ण अध्याय थप्दै, एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच बहुप्रतिक्षित टेलिभिजन रियालिटी शो “लोक दोहोरी स्टार” का लागि आधिकारिक म्युजिक पार्टनर सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
म्युजिक नेपालको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत उत्तम थापा र एभेन्टोज डिजिटलका तर्फबाट शोका निर्माता डेभिल सिंह राजपूतले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता कार्यक्रममा म्युजिक नेपालको तर्फबाट निराजन महर्जन उपस्थित थिए भने एभेन्टोज डिजिटलका तर्फबाट शोका सह–निर्माता तथा प्रशासन प्रमुख यादव बहादुर थापा सहभागी थिए। साथै, शो निर्देशक माधव राज खरेल र शोका निर्णायक चन्द्र शर्मा लगायत व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिती थियो।
दुबै पक्षले कार्यक्रममा “लोक दोहोरी स्टार” लाई नेपाली संगीत इतिहासकै भव्य र फरक शोका रूपमा प्रस्तुत गर्ने साझा प्रतिबद्धता व्यक्त गरे। उनीहरूले बताएअनुसार, यो सहकार्यले शोका मौलिक गीत, दोहोरी तथा सिर्जनात्मक प्रस्तुतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा म्युजिक नेपालको डिजिटल प्लेटफर्ममार्फत प्रचार–प्रसार गर्न महत्वपूर्ण भूमिका खेलेनेछ।
एभेन्टोज डिजिटलद्वारा निर्माण भइरहेको “लोक दोहोरी स्टार” ले देशभरका प्रतिभाशाली लोक दोहोरी गायक–गायिकाहरूलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्य लिएको छ। निर्णायक मण्डलमा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायिका रीता थापा मगर, गायक तथा संगीतकार चन्द्र शर्मा र गायक/संगीतकार अमृत खाती रहेका छन्। शोको एक्सक्लुसिभ टेलिभिजन पार्टनर स्पेस टेलिभिजन हो भने अफिसियल युट्युब च्यानल एभेन्टोज डिजिटलमार्फत कार्यक्रम प्रसारण गरिनेछ। यसअघि यस सिजनको “लोक दोहोरी स्टार” को मेगा अडिशन सम्पन्न भइसकेको छ।
सम्झौतापछि दुबै संस्थाका प्रतिनिधिहरूले यो सहकार्य नेपाली लोकसंगीतको उत्थान र संरक्षणका लागि एक महत्वपूर्ण माइलस्टोन सावित हुने विश्वास व्यक्त गरे। शोले परम्परागत लोकसंगीतलाई आधुनिक प्रविधि र आकर्षक प्रस्तुतीका माध्यमबाट नयाँ पुस्ताका दर्शकमाझ पुनः जीवन्त बनाउने लक्ष्य लिएको छ। कार्यक्रम मंसिरको दोस्रो साताबाट प्रसारणमा आउने तय गरिएको छ।