नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै उल्लेखनीय सफलता हासिल गरेको चलचित्र ‘ऊनको स्वीटर’ अब भारतमा रिलिज हुने भएको छ। आर्टमान्डूले निर्माण गरेको यस चलचित्रलाई भारतमा एसली प्रोडक्सनले वितरण गर्ने निर्णय गर्दै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छ।
निर्देशक नवीन चौहानका अनुसार नोभेम्बर २१ देखि चलचित्र दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानहरूका सिनेमा हलमा पहिलो चरणमा प्रदर्शन हुनेछ।
हालै मात्र भारतको चलचित्र प्रमाणीकरण बोर्डबाट सेन्सर पास भएको यो फिल्मलाई दार्जिलिङस्थित एसभिएफ सिनेमा, कर्स्याङको कर्स्याङ फन्टाजी सिनेमा, नाम्चीको नाम्ची इम्पेरियल सिनेमा, गान्तोकस्थित डेन्जोङ सिनेमा, वज्र सिनेमा, आईएनओएक्स गान्तोक, सिलिगुडीको आईएनओएक्स सिनेमा सिटी सेन्टर, आईएनओएक्स वेगा सर्कल, आईएनओएक्स एग्रोपोलिस, र साउथ सिटी सिलिगुडी लगायत प्रतिष्ठित हलहरूले प्रदर्शनका लागि आफ्नो स्क्रिन प्रदान गरिसकेका छन्।
चलचित्रको भारत प्रिमियर रिलिज नोभेम्बर २० मा सिक्किममा हुने भएको छ। प्रिमियरमा नेपालबाट विपिन कार्की, एलेक्स पारस लगायत कलाकारहरू, गायक सुजन चापागाईँ, निर्देशक नवीन चौहान लगायत सहभागी हुने जनाइएको छ। त्यस्तै, त्यहाँका नेपाली कलाकर्मी र सिक्किम राज्यका प्रतिनिधिहरू पनि उपस्थित रहनेछन्।
गत वैशाख २६ गते नेपालमा रिलिज भएको ‘ऊनको स्वीटर’ करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई वर्षकै चर्चित चलचित्रमध्ये एक बनेको थियो।
नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको यस चलचित्रले नेपाली समाजका वास्तविक भाव र बुझाइलाई स्पर्श गर्ने कथा वाचन, सशक्त अभिनय र मन छुने सङ्गीतका कारण दर्शक र समीक्षकबाट प्रशंसा पाएको छ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर, सुनिल पोखरेल लगायतका कलाकारहरूको प्रभावकारी अभिनय रहेको छ। गीत सुजन चापागाईँ र सङ्गीत कोविद बज्रले निर्देशन गरेका छन्।
एसली प्रोडक्सनले जारी गरेको वक्तव्य अनुसार, ‘ऊनको स्वीटर’ले नेपालमा जस्तै भारतका दर्शकमा पनि गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
नेपाली कथा वाचन र सांस्कृतिक भावनाले भरिएको यस चलचित्रले भारतका नेपाली भाषी क्षेत्रका मात्र होइन, मौलिक कथा खोज्ने भारतीय दर्शकसमुदायलाई पनि आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ।