एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ शुक्रबार सार्वजनिक गरिएको छ।
गीतमा सिनेमाका मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन्। अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक यस फिल्ममा रोम्यान्टिक भूमिका देखिएका हुन्।
सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ र भिडियोले दर्शकलाई सिनेमाप्रति उत्साहित बनाउने काम गरेको छ।
गीत एलिस कार्कीले कम्पोज गरेका हुन् भने स्वर सनिश श्रेष्ठ र अप्सरा घिमिरेको रहेको छ। शब्द नीरकमल खड्का (मामल) को हुन् भने एरेञ्ज, मिक्सिङ र मास्टरिङ शैलेन्द्र एम प्रधान (बाबु) ले गरेका छन्।
गायक सनिश श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट चर्चामा आएका थिए। ‘हर्ष’ फिल्मबाट उनी पाश्र्व गायन क्षेत्रमा प्रवेश गरेका हुन् र यो गीतले उनलाई संगीत क्षेत्रमा स्थापित गर्ने विश्वास उनले व्यक्त गरेका छन्।
निर्देशक एकता पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमामेकिङ अध्ययन र आमसंचार तथा व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी पौडेलले यसअघि केही छोटा फिल्महरू निर्माण गरिसकेकी छन्।
फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित, साइमन वादी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको छायांकन आलोक शुक्ला, संगीत समीर, हिमाल, वसन्त सापकोटा र एलिस कार्की, सम्पादन लोकेश बज्राचार्य, कोरियोग्राफी सुनिल क्षेत्री र निर्देशक पौडेल, निर्माण अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिज, कथा निर्देशक पौडेल, निर्माता प्रशन्न पौडेल र विकास पौडेल, कार्यकारी निर्माता हिक्मत चोखाल, प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा रहेका छन्।