दरबारमार्गमा स्टारबोस कफीको पहिलो आउटलेट: अब नेपालमै अन्तर्राष्ट्रियस्तरको क्याफे अनुभव

0 Shares

नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्याफे संस्कृतिको अनुभव विस्तार गर्ने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ। शनिबार आयोजित विशेष समारोहमा अभिनेत्री तथा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली, र टक्सार ग्रुप अफ कम्पनीजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कफी हाउसको उद्घाटन गरे।

टक्सार ग्रुप अफ कम्पनीजद्वारा सञ्चालित स्टारबोस कफीले आधुनिक सजावट, विश्वस्तरीय सेवा तथा उत्कृष्ट कफी र परिकारमार्फत नेपालमा क्याफे संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छ। सोही अवसरमा अभिनेत्री नम्रता श्रेष्ठलाई स्टारबोस कफीको आधिकारिक ब्रान्ड एम्बेसडर घोषणा गरिएको थियो। कम्पनीका अनुसार नम्रताको छवीले ब्रान्डको विश्वास र पहिचान थप मजबुत गर्नेछ।

समारोहका प्रमुख अतिथि नबिल बैंकका सीईओ मनोज ज्ञवालीले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच नयाँ व्यवसाय सुरु हुनु सकारात्मक संकेत भएको बताए। उनका अनुसार स्टारबोस कफीले अन्य उद्यमीहरूलाई नेपालमै नयाँ अवसर खोज्न प्रेरित गर्नेछ।

उद्घाटन कार्यक्रममा सहभागी पत्रकार ऋषि धमलाले जेनजी आन्दोलनका कारण प्रभावित व्यवसायीलाई सरकारले राहत दिनुपर्ने भन्दै नयाँ व्यवसायिक वातावरण निर्माणमा यसको प्रभाव पर्ने टिप्पणी गरे। उनले नेपालमा भइरहेको परिवर्तनले उद्यमशीलता विस्तारमा मद्दत पुर्‍याइरहेको बताए।

टक्सार ग्रुपका अध्यक्ष श्रीकृष्ण श्रेष्ठका अनुसार विभिन्न चुनौतीका बीच पनि स्टारबोस कफी सञ्चालनमा ल्याउन सफल हुनु समूहका लागि महत्वपूर्ण उपलब्धि हो। उत्कृष्ट सेवा, स्वादिलो कफी र शान्त वातावरणसहित स्टारबोसलाई नेपालकै प्रमुख क्याफे ब्रान्ड बनाउने लक्ष्य राखिएको उनले बताए।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रदान गर्ने उद्देश्यले स्टारबोस कफीले विशेषज्ञहरूले समावेश भएको बलियो टिम तयार पारेको छ। युवालाइ रोजगारी, सीप विकास र उद्यमशीलता प्रोत्साहनमा पनि यो परियोजनाले सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ।

दरबारमार्ग शाखाको उद्घाटनसँगै स्टारबोस कफीले तिनकुनेमा दोस्रो र इमाडोल, ललितपुरमा तेस्रो शाखा चाँडै सञ्चालन गर्ने तयारी गरेको छ। साथै, भविष्यमा नेपालका प्रमुख शहरहरूमा फ्रेन्चाइज विस्तार गर्ने योजना पनि अगाडि सारिएको छ।

स्टारबोस कफी टीजी भेन्चर्स अन्तर्गतको पहिलो हस्पिटालिटी परियोजना हो। टीजी भेन्चर्स, टक्सार ग्रुप अफ कम्पनीजको प्रमुख व्यापारिक इकाइ मानिन्छ, जसले विभिन्न क्षेत्रमध्ये अब हस्पिटालिटी र क्याफे उद्योगमा औपचारिक प्रवेश गरेको हो।

उद्घाटन कार्यक्रममा टक्सार ग्रुपका सह-संस्थापक तथा फ्रेन्चाइज प्रमुख दिर्घप्रसाद कर्माचार्य, स्टारबोस कफीका एमडी पूर्ण श्रेष्ठ, महाप्रबन्धक सुवास अधिकारी, कलाकार यमन श्रेष्ठलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

सबै