सकियो दिनेशको ‘कुमारी’को छायाङ्कन सम्पन्न

0 Shares

 निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण भइरहेको प्रेम कथानक नेपाली चलचित्र **‘कुमारी’**को सम्पूर्ण छायाङ्कन पूरा भएको छ।

भाद्र १७ गतेबाट सुरु भएको छायाङ्कन प्रक्रिया शनिबार औपचारिक रूपमा सम्पन्न भएको निर्माण टिमले जनाएको छ। छायाङ्कन सकिएको भए पनि चलचित्रको रिलिज मिति केही दिनमै घोषणा गरिनेछ।

पोस्ट–प्रोडक्सनको प्रगतिअनुसार अन्तिम मिति तय गरिने निर्देशक राउतले बताए।

छायाङ्कनको बीचमै चलचित्र ‘कुमारी’ निकै चर्चामा आएको थियो। घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल बनेपछि चलचित्रले व्यापक ध्यान खिचेको हो।

हाल देशव्यापी कन्सर्टमा व्यस्त गायक केहर सिंह लिम्बुले पनि यही गीतलाई दर्शकको मागअनुसार निरन्तर प्रस्तुत गरिरहेका छन्। उनी र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले गाएको लाइभ भर्सन टिकटक र युट्युबमा अत्यधिक ट्रेन्डिङ छ।

‘जेन–जी’ पुस्ताले टिकटकमा सर्वाधिक प्रयोग गरिरहेको गीतको स्टुडियो भर्सन चलचित्र रिलिजसँगै मात्र सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

यस चलचित्रमार्फत अविष्येक खड्का र आकृति राजभन्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारको पनि अभिनय रहेको छ।

चलचित्रको छायाङ्कन निर्देशक सुसन प्रजापतिले गरेका हुन्। निर्माण बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा गरेको हो भने निर्माता महेन्द्र अधिकारी हुन्। स्क्रिप्ट विकास सुवेदीले लेखेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन **रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)**को रहेको छ।

‘कुमारी’मा चार गीत छन्, जसमा सबैमा गायक लिम्बुले नै स्वर दिएका छन्। सङ्गीतमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको योगदान छ। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका हुन्।

निर्माण टिमका अनुसार चलचित्र यही वर्षभित्रै प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। छायाङ्कन सकिएको घोषणापछि टोली अब पूर्ण रूपमा पोस्ट–प्रोडक्सनमा केन्द्रित हुने बताइएको छ।

सम्बन्धित समाचार

सबै