मंसिर १८ गतेबाट रिलिज हुने ‘अभिमन्यु : च्याप्टर १’को नयाँ पोस्टरमा के छ ?

0 Shares

फिल्म ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ। विभिन्न कारणले पटक–पटक प्रदर्शन मिति स्थगित हुँदै आएको यो सिनेमा अब दर्शकले मंसिर १८ गतेदेखि हेर्न पाउने भएका छन्।

यसै क्रममा, निर्माण पक्षले आज फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ। कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङ्देल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकार पोस्टरमा देखिन्छन्।

सबै कलाकार आफ्ना क्यारेक्टर लुक्समै प्रस्तुत गरिएको छन्। कामेश्वर चौरसिया साइकलसहित देखिएका छन् भने बाँकी कलाकारहरू पनि आफ्नो भूमिकाअनुसार विभिन्न लुक्समा छन्। कुन कलाकार फिल्ममा कस्तो रूप–रूपान्तरणमा देखिँदै छन् भन्ने कुरा पोस्टरले स्पष्ट पार्छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपालभरि, भारतमा तथा अन्तर्राष्ट्रिय रूपमा एकसाथ प्रदर्शनमा आउनेछ।

निर्माण पक्षले फिल्म कथानक र प्राविधिक पक्ष दुवैमा बलियो रहेको दाबी गर्दै आएको छ। तराईको पृष्ठभूमिमा बनेको यस सिनेमाले तराईको कथा भन्ने संकेत पोस्टरका मुख्य कलाकार कामेश्वर र लक्ष्मीको हुलियाले पनि दिन्छ।

सुशान्त गौतमद्वारा निर्देशित ‘अभिमन्यु : च्याप्टर १’ का क्रिएटिभ निर्देशक मदन थापा हुन्। फिल्मको कथा मुकेश खनालले लेखेका हुन्।

यसका निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन्। सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्। लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन्।

फिल्मका डिओपी शरद महतो हुन्। भिएफएक्स मनोज श्रेष्ठले गरेका छन्। रंग संयोजन जुनिम गहतराजले, सम्पादन मदन घिमिरेले गरेका छन्।

सम्बन्धित समाचार

सबै