प्रचारकाको लागि ‘हर्ष’को टिम चितवनका स्कूल,कलेज र महोत्सवमा, मंसिर १२ मा हुँदैछ रिलिज

0 Shares

मंसिर १२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को निर्माण टिम प्रचार–प्रसारका लागि चितवन पुगेको छ।

चितवन निर्देशक एकता पौडेलको गृहनगर भएकाले उनी स्थानीय स्तरमा स्कुल, कलेजदेखि मेला–महोत्सवसम्म पुगेर फिल्मबारे जानकारी प्रदान गर्दै व्यापक प्रचारमा जुटेकी छन्।

आज बिहान टिमले चितवनमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको थियो। त्यसपछि ग्लोरियस एकेडेमी स्कुलमा पुगेर विद्यार्थीलाई सिनेमाबारे जानकारी गराइएको थियो। आज नै टिमले खेलकुद तथा वृहत व्यापारिक महोत्सव–२०८२ मा पनि दर्शकसँग प्रत्यक्ष भेटघाट गर्नेछ।

निर्देशक एकता पौडेलसँगै कलाकार वर्षा राउत, सन्तोष पन्त, साइमन वादी तथा कोरियोग्राफर सुनिल क्षेत्री पनि चितवनमा उपस्थित रहेर फिल्मबारे जानकारी दिइरहेका छन्।

पत्रकार भेटघाट कार्यक्रममा डेब्यु निर्देशक एकता पौडेलले आफू चितवनकी चेली भएकाले ‘हर्ष’ले चितवनवासीको माया पाउने विश्वास व्यक्त गरिन्। “मैले धेरै मेहनत गरेर सिनेमा निर्माण गरेकी हुँ, सबैको साथ र समर्थनको अपेक्षा छ,” उनले भनिन्। फिल्मकी मुख्य अभिनेत्री वर्षा राउतले ‘हर्ष’ एक पारिवारिक विषयवस्तु भएकोले सबैले मन पराउने विश्वास व्यक्त गरिन्।

कलाकार सन्तोष पन्तले महिला निर्देशकले कडा मेहनतका साथ निर्माण गरेको उत्कृष्ट फिल्म भएकाले दर्शकले हेरिदिन आग्रह गरे। कोरियोग्राफर सुनिल क्षेत्रीले फिल्म राम्रो बनेको भन्दै आज चितवनमा आयोजित महोत्सवमा विशेष प्रस्तुति लिएर उपस्थित भएको बताए।

चितवनमै सम्पूर्ण छायांकन गरिएको ‘हर्ष’ निर्देशक एकता पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीमा फिल्ममेकिङ अध्ययन गरेकी उनले पत्रकारिता तथा आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्वमा स्नातकोत्तर गरेकी छन्। यसअघि उनले केही छोटा फिल्म पनि निर्माण गरेकी थिइन्।

फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउतसँगै निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित तथा बालकलाकार साइमन वादीको अभिनय छ।

आलोक शुक्लाको छायांकन, समीर–हिमाल, वसन्त सापकोटा र एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी फिल्ममा समावेश छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा निर्माण भएको ‘हर्ष’को कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन्। प्रशन्न पौडेल र विकास पौडेल निर्माता, हिक्मत चोखाल कार्यकारी निर्माता तथा इश्वर घिमिरे प्रोडक्सन म्यानेजर हुन्। फिल्मका मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन्।

सम्बन्धित समाचार

सबै