चलचित्र ‘द ब्ल्यू लाइट’ को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा चलचित्रका मुख्य पाँच कलाकारलाई देख्न सकिन्छ।
खैरो पृष्ठभूमि भएको कुनै घर वा होटलको सेटमा, महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुषमान देशराज जोशी मुख्य भूमिकामा पोस्टरमा अटाएका छन्।
सबै पात्रमा एउटै समानता देखिन्छ – नैराश्यता। पाँचै जना निराश देखिएका छन्। भिन्नता भने त्यहाँ छ – महेशको हातमा बञ्चरो छ, जबकि अरूको हात खाली छ।
पात्रहरू तनावमा देखिएका भए पनि त्यसको कारण पोस्टरले बताएको छैन। त्यसैले यसलाई ‘तनावमा मौनता बोकेको पाँच मुख्य पात्र’ को प्रतिनिधित्व भएको पोस्टर भन्न सकिन्छ।
चलचित्र बलिराम चौहानको निर्देशनमा निर्माण भएको यस फिल्म पुस १० गतेबाट रिलिज हुँदैछ।
चलचित्रको प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुषमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी रहेका छन्। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्स प्रस्तुत गर्दैछ। चलचित्रको को–प्रोडुसर रमन ग्रे, छायांकन नरेन्द्र मैनाली, मुख्य सहायक निर्देशक आकाश उखेडा, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, र निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन्।