नेपालकै पहिलो साइन्स-फिक्सन फिल्म ‘एक्लो-१’ मा रहेको दिनेश डिसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।
सोमबार, उनका जन्मदिनको अवसरमा सार्वजनिक गरिएको पोस्टरमा उनी ‘द्रोण’ नामक पात्रको रूपमा देखिएका छन्। पोस्टरमा दिनेश गम्भीर मुद्रामा देखिन्छन् र उनको पहिरनले आध्यात्मिक प्रकृतिको संकेत दिएको छ।
निर्माण पक्षका अनुसार, फिल्मको कथामा दिनेशको पात्रले महत्वपूर्ण मोड ल्याउनेछ।
प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दिनेश डिसी, प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विनोद सुवेदी ‘क्षितिज’ लगायतका कलाकारको अभिनय छ। फिल्ममा एनआरएन समूहको लगानी रहेको छ भने निर्मातामा प्रदीप खड्का पनि छन्।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १७ बाट देशभर प्रदर्शन हुने यो फिल्मको कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।
फिल्मको छायांकन बाबु श्रेष्ठ, सम्पादन रुपेश तामाङ, सङ्गीत रोहित शाक्य र द्वन्द्व निर्देशन राजु तामाङले गरेका छन्। गत मे महिनामा फिल्मलाई फ्रान्सको विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा प्रचारका लागि स्टल राखेर प्रस्तुत गरिएको थियो।