चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार, उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ ले प्रदर्शनको ९ दिनमै ४ करोड ९२ लाख २२ हजार ९७६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
त्यसैगरी, टंक बुढाथोकी निर्देशित ‘मनबिनाको धन’ ले समान अवधिमा २ करोड ४३ लाख ३५ हजार ५८७ रुपैयाँ कलेक्सन गरेको छ। यी दुवै चलचित्र गत कात्तिक २१ गतेबाट एकैसाथ प्रदर्शनमा आएका थिए।
‘जारी २’ साढे दुई वर्षअघि प्रदर्शित ‘जारी’को सिक्वेल हो। अघिल्लो चलचित्रले १७ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको थियो। ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर लगायत कलाकारको अभिनय छ। ‘मनबिनाको धन’ गायक अशोक दर्जी को जीवन संघर्षमा आधारित चलचित्र हो।
यसैगरी, तेस्रो सातामा प्रवेश गरिसकेको ‘परान’ ले ९ करोड ८६ लाख ९४ हजार ७६४ रुपैयाँ र अनमोल केसी स्टारर ‘जेरी अन टप’ ले १२ करोड ७ लाख ३४ हजार २४६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।