‘मुगलान’मा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज,यस्तो देखियो प्रभात र स्मारिका जोडी

0 Shares

रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’को गीत रिलिज भएको छ। निर्माण टिमले आइतबार फिल्ममा समावेश गीत ‘पिन्टु पियारी’ सार्वजनिक गरेको हो।

डान्सिङ गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन्। उनीहरूको नृत्यलाई दर्शकले पनि रुचाएका छन्। युना डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको यस गीतको भिडियो दर्शकबाट माया पाइरहेको छ।

गीतमा गायक हरि गिरी (विमर्शी) र शान्तिश्री परियारको आवाज छ। गीतलाई संगीत र शब्दरचना पनि हरि गिरीले नै गरेका छन्। त्यसैगरी गीतको एरेञ्ज, मास्टरिङ तथा मिक्सिङ एचबिएन किस्मतले गरेका छन् भने रेकर्डिङ राज खड्काले गरेका छन्।

यसअघि प्रचार–प्रसार सामग्रीको रूपमा निर्माण टिमले ३९ सेकेण्डको टिजर सार्वजनिक गरेको थियो। उक्त टिजरमा फिल्मको कथा झल्काएर दर्शकमाझ कौतुहलता पैदा गर्न सफल भएको थियो। आर्थिक अभाव झेलिरहेको एक युवा परिवारलाई सुखमा राख्न विदेशी रोजगारका लागि छिमेकी मुलुक भारत पुग्छ। त्यहाँ उनले पाएको सास्ती र यता साहुले गरेको अत्याचारबीचको कथालाई टिजरले प्रस्तुत गर्छ, जुन नेपाली समाजको यथार्थ चित्रण हो।

फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालका अतिरिक्त श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख. ब. पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलालगायत कलाकारको अभिनय छ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन्। फिल्मको को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन्। तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्धन्द्व निर्देशन रहेको फिल्ममा बिएम रिदम कँडेलको संगीत छ। फिल्ममा कोरियोग्राफर देवेन्द्र कुँवर र डिओपी अजय रेग्मी छन्।

फिल्ममा संगीत किरण भुषालले पनि दिएका छन् भने गायनमा शान्तिश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) लगायतको समावेश छ। गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी) रहेका छन्। फिल्मको वितरण आर–आर फिल्म्सले गर्दैछ।

सम्बन्धित समाचार

सबै