नेपालका चलचित्र निर्माताहरूको छाता संस्था नेपाल चलचित्र निर्माता संघमा नयाँ नेतृत्व चयन भएको छ।
संघको सोमबार काठमाडौंमा सम्पन्न चुनावी साधारण सभामा उदय सुब्बा अध्यक्षमा विजयी भएका छन्।
कुल २८० मत खसेकोमा सुब्बाले १५३ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी सुनिलकुमार थापालाई २७ मतले पछि पारे।
महासचिवमा कलाकार तथा ‘पशुपति प्रसाद’का निर्माता खगेन्द्र लामिछाने विजयी भएका छन्। उनले १५२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी किरण नेपालले १२५ मत पाए।
त्यस्तै, युवराज गिरी सचिवमा निर्वाचित भएका छन्। गिरीले १५९ मत ल्याउँदा उनका प्रतिस्पर्धी किसान पोखरेलले ११२ मत प्राप्त गरे।
उपाध्यक्षतर्फ ‘दिमाग खराब’का निर्माता रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चयन भएका छन्।
कोषाध्यक्षमा ‘डिसेम्बर फल्स’का निर्माता रामप्रसाद रिजाल निर्विरोध चयन भए।
सदस्यतर्फ ७ जना सर्वसम्मत निर्वाचित भए— चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया, र राजकुमार पण्डित। कुल ९ सदस्यको पदका लागि ७ जनाले मात्र आवेदन दिएका थिए।