गायिका नीतु पौडेल आत्मदाह प्रकरणमा संगीतकार बाबुल गिरी ३ लाख धरौटीमा रिहा

0 Shares

गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा दुरुत्साहन आरोपमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले प्रारम्भिक पुर्पक्षका लागि उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, गिरीले नीतुको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वीकारोक्ति बयान दिएका थिए।
भट्टराईका अनुसार, “आफ्नै कतिपय गल्तीका कारण गायिकाले आत्मदाह गर्नुपरेको भनी उनले बयानमा स्वीकार गर्नुभयो,” प्रहरी स्रोतले जनाएको छ।

बाबुल गिरी र नीतु पौडेल केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ। प्रेमिकाको चाहनालाई आफूले गम्भीरतापूर्वक नलिनु नै घटनाको मूल कारण बनेको भन्दै उनले अदालतमा पनि पश्चाताप व्यक्त गरेका थिए। प्रतिवादीले गल्ती स्वीकार गरेपछि अदालतले तत्कालका लागि धरौटीमा रिहा गरी मुद्दाको पुर्पक्ष अघि बढाउने निर्णय गरेको जिल्ला अदालत स्रोतको भनाइ छ।

कात्तिक १ गते, अनामनगरस्थित गिरीको स्टुडियोमा नीतुले आफ्नै शरीरमा पेट्रोल छर्केकी थिइन्। घटनापछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो, जहाँ कात्तिक ७ गते उपचारकै क्रममा उनको मृत्यु भएको थियो। पौडेलको निधनपछि गायक गिरी स्वयं प्रहरी परिसरमा उपस्थित भएका थिए।

सम्बन्धित समाचार

सबै