नीर शाह स्टारर फिल्म ‘परान’ २०८२ सालको अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने नेपाली फिल्म बनेको छ।
प्रदर्शनको २१औँ दिन बिहीबार साँझ ६ बजेसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख रुपैयाँ नेरु ग्रस व्यापार दर्ता गरेको छ।
दीपक आचार्य ‘काकु’ निर्देशित यस फिल्मले लोकप्रिय अभिनेता अनमोल केसी अभिनीत रोमान्टिक ड्रामा ‘जेरी अन टप’ को कमाइलाई समेत उछिनेको छ। ‘जेरी अन टप’ ले सोही समयमा १२ करोड १४ लाख ग्रस व्यापार दर्ता गरेको थियो।
‘परान’ को प्रदर्शन गति निकै सबल देखिएको छ। साप्ताहिक दिनहरूमा पनि फिल्मले दैनिक ३०–५० लाख सम्मको औसत कमाइ गरिरहेकाले आगामी सप्ताहन्तसम्म फिल्मले १४ करोडको आँकडा छुन सक्ने प्रक्षेपण गरिएको छ।
फिल्मको सफलता ‘वर्ड अफ माउथ’ले अझ बढाएको छ। देशभरका हलमा उत्कृष्ट प्रदर्शन भइरहेका बेला फिल्म अब अन्तर्राष्ट्रिय बजारहरूमा प्रदर्शनका लागि तयारी अवस्थामा रहेको निर्माण पक्षले जनाएको छ।